– चिन्तन पाठक, अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  झापा


ADVERTISEMENT


नेकपाको झापा जिल्लाको अध्यक्षका रुपमा तपाईं आउनुभएको छ । के छन अबका योजना ?


ADVERTISEMENT

# # #


झापा जिल्ला आफैमा कम्युनिस्टहरुको उर्बर भूमि हो । त्यही कम्युनिस्ट आन्दोलनबाट उत्पादित एकजना नेताले आज यो देश हाँकिरहनु भएको छ । जुन हाम्रो लागि प्रेरणा र खुसीको कुरा पनि हो । दुई ठूला कम्युनिस्ट पार्टी मिलेकाले हामी अहिले संगठित ठूलो शक्ति बनेका छौँ । यसलाई व्यवस्थित गरेर राष्ट्र निर्माणमा लगाउनका लागि हामी छलफल गरिरहेका छौँ । विगतका कुराहरुबाट शिक्षा लिँदै अबका दिनमा झापा जिल्लालाई कसरी समृद्ध बनाउन सकिन्छ ? आम जनताले माया गर्ने पार्टी कसरी बनाउन सकिन्छ भन्ने हिसाबले हामी सोचिरहेको छौँ ।

जिल्ला कमिटि निर्माण कसरी भइरहेको छ ?

हामीले पार्टी जिल्ला कमिटी निर्माण गरिसकेका छौँ । १५ वटै स्थानीय कमिटी निर्माणको काम हामीले सम्पन्न गरेका छौँ । झापामा रहेका १३१ वटा वडाहरुमा कमिटि निर्माण र शपथ ग्रहण पनि गरिसकेका छौँ । यति खेर हामी पार्टीका विभागहरु र पार्टीका सल्लाहकार परिषद्हरु निर्माणको तयारीमा छौँ ।

झापामा नेकपाको नेतृत्व अब कसरी अगाडि बढाउनु हुन्छ ?

दुई तिहाईसहित सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपाको झापा जिल्लाको नेतृत्व गर्ने अभिभारा यतिबेला प्राप्त भइरहँदा मेरासामू चुनौतिहरु छन् । तिनलाई सामना गर्ने सन्दर्भमा मलाई के विश्वास छ भने सबै पार्टी र नेता कार्यकर्ताले हिजो मलाई गरेको विश्वास जारी रहनेछ । दलहरुको एकता सिक्नका लागि झापा जानुपर्छ भनेर प्रशासकहरुले पनि भन्ने गर्छन् । हामीले त्यो खालको स्थितिलाई पनि एकातिर जोगाएका छौँ । हिजोका योद्धाहरुको इतिहास र विरासतलाई जोगाउँदै समृद्ध नेपाल बनाउने जिम्मेवारी मेरो काँधमा छ । यसमा सबैले साथ दिनुहुन्छ भन्ने मलाई विश्वास छ ।

एमाले र एमाओबादी मिलेर बनेको नेकपाको जिल्ला नेतृत्व गर्दै हुनुहुन्छ । अबका चुनौतिहरु के छन् ? तिनलाई कसरी सामना गर्नुहुन्छ ?

हिजोका दिनमा नेकपा एमाले र माओवादी केन्द्र भन्ने नामले छुट्टाछ्ट्टै पार्टीहरु थिए । फरक किसिमले नेतृत्व चलिरहेको थियो । आज यी दुबै एक भएका छन् । हिजो छुट्टाछ्ट्टै योजना र सिद्धान्त बोकेका दुई शक्तिलाई एक ठाउँमा ल्याएर संगै अगाडि बढ्नै आफैमा  चुनौतिपूर्ण काम हो । यो बीचमा केही कार्यकर्ताहरुमा पूर्व एमाले र पूर्वमाओवादीको धङधङी बाँकी नै छ । त्यसलाई हटाउनुछ । चुनाव  जित्नका लागि थोरै मतले पनि प्रभावकारी बन्न सक्छ भन्ने कुरा हाम्रो अनुभवले सिकाएका छन् । यसलाई ध्यानमा राखेर पार्टी एकतालाई मजबुत बनाउनु हाम्रो दायित्व हो । देश संघीयतामा गएकाले स्थानीय जनप्रतिनिधि र जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै विकासमा अग्रसर बन्ने चुनौति छ । तिनलाई क्रमिक ढंगले व्यवस्थापन गरिरहेका छौं ।

झापाको विकासका लागि कसरी काम अगाडी बढिरहेको छ ?

झापा आफैमा कृषि र प्रर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला हो । झापा जिल्लाको एकिकृत विकासका लागि ९ सदस्यीय झापा जिल्ला समन्वय समिति गठन गरिएको छ । त्यसको नेतृत्व नेकपाले गरिरहेको छ । झापा घोषणा पत्र समेत त्यसले निर्माण गरिसकेको छ । झापाको विकासका लागि विभिन्न किसिमका आयोजनाको सूचि बनाउँदै त्यसलाई सम्बन्धित निकायमा पुयाइसकिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना त्यहाँ लागू भएको छ । त्यसले किसानलाई बिउविजन र अन्य कृषि सहायता प्रदान गरिरहेको छ ।

अघिल्लो वर्ष हामीले माग गरेको ‘सुपारी जोन’, ‘रबर जोन’ पाइसकेका छौँ । झापालाई मकै र माछा जोनका रुपमा विकास गर्नुपर्छ भनेर सरकारसंग माग राखेका छौँ । दमकमा अन्तराष्ट्रिय रंगशाला बन्दैछ, भ्यू टावर बनिरहेको छ । सभाहल दमक र चन्द्रगढीमा बनिरहेको छ । यसरी विभिन्न योजनाहरु निर्माण भइरहेका छन् । यस्तै हुलाकी सडकको काम अगाडि बढेको छ । यस हिसाबले हेर्दा हिजोको झापा र अबको एक डेढ वर्षपछिको झापामा निकै ठूलो परिवर्तन देख्न सकिनेछ ।

अन्त्यमा, सरकारले ‘सुखी नेपाली र समृद्ध नेपाल’को नारा बोकेको छ । प्रधानमन्त्री पनि यहाँकै जिल्लाबाट हुनुहन्छ । दुई तिहाईको शक्तिसहित सरकार बनेको करिब डेढ वर्ष पुगिसकेको अवस्थामा यसको गतिलाई कसरी हेर्नुभएको छ ?

सरकारले समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि केही सूचकाङ्क तयार गरेको छ । ती सूचकाङ्क पूरा गर्न र परिपालना गर्नतर्फ हामी लाग्नुपर्छ । सरकारलाई सफल बनाउन पार्टी र यसका जनसंगठनको भूमिका महत्वपूर्ण रहन्छ । त्यसकारण सरकारले ल्याएका नीति तथा कार्यक्रमहरु लागू गर्नका लागि योजनावद्ध ढंगले लाग्न जरुरी छ ।

दुई तिहाईको शक्ति हुँदा पनि सरकारले काम गर्न सकेन भन्ने कुुराहरु कतिपय ठाउँमा उठ्ने गर्छन् । तर, लामो समयसम्म हामी सरकारमा रहेनौँ । अघिल्ला सरकारले गरेका कतिपय कुराहरु सच्याएर जानुपर्ने खालको परिस्थिति पनि यो सरकारको बीचमा रह्यो । संविधान निर्माण भइसकेपनि धेरै ऐन कानुन निर्माण गर्नुपर्ने अवस्थामा सरकारले त्यसमा समय खर्च गर्यो । यसले गर्दा अपेक्षा अनुसारका काम हुन सकेन होला । तर, पछिल्लो समय हामी गाउँघरमा गयौँ भने विकासको अनुभूति गर्न सक्छौँ । अहिले सरकारले ल्याएका लोकप्रिय नीतिले जनताको विश्वास जित्दैछ । हामीसंग अझै दुई तीन वर्षको समय छ । यो अवधिमा जनताले मत सही ठाउँमा हालेछौँ भन्ने अनुभूति गराउने गरी काम हुन्छ । हामी त्यही किसिमले अगाडि बढिरहेका छौँ ।