काठमाडौं– सत्तारुढ दलका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहंकार छोडी जनताको मन जित्ने काम गर्न सरकारलाई सुझाव दिएका छन् ।


ADVERTISEMENT


युवा संघ नेपालको २९ औ वार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहंकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतनतर्फ डोर्याउने भन्दै कम्युनिष्ट आन्दोलनलाई बचाई लोकप्रिय बनाउनेतर्फ गम्भीर बन्न सुझाव दिएका हुन् । उनले बहुमतको अहंकारमा नपर्न पनि सरकारलाई सचेत गराए ।


ADVERTISEMENT

# # #


‘हाम्रो काम र व्यवहारले नै जनताको मन जित्न सक्दछ । जनताका पीर, मर्कामा सहयोगी भयौ भने जनताको दुःख कष्टमा साथ दियौ भने अनि जनताको सुखमा पनि रमायौ भने अनि जनताले हामीलाई मन पराउनेछन् । नभए त्यतिकै जनताले मन पराउँछन् भनेर त्यसको ग्यारेण्टी गरेर बस्न सक्दैनौ ।’ उनले भने, ‘ख्याल गर्नुहोस् । यसअर्थमा पनि जनताका समस्याहरु के हुन् ? जनताका चाहानाहरु के हुन् ? जनता के भनिरहेका छन् ? त्यो सुन्नुहोस् । म जोड दिन चाहन्छु । हाम्रो बानी के भएको छ भने भन्ने बोल्ने । सुन्ने कम ।’

अहिले सम्पुर्ण कम्युनिष्ट नेताहरुको आचरण र व्यवहारमाथि नै परीक्षण भइरहेको भन्दै उनले आचरण र व्यवहारका कारण नै विकृति फैलिएको त छैन भन्नेतर्फ विचार पुयाउन नेतृत्वको ध्यानाकर्षण गराए । सिद्धान्तको अध्ययन र विचारलाई ग्रहण गर्दे संस्थागत नियम र विधिको पालना गरि संगठनात्मक जिम्मेवारी अघि बढाउन पनि उनले आग्रह गरे ।

उनले भने, ‘हाम्रो आचरण र व्यवहारमा कतै ठुला समस्या त खडा भएका छैनन् ? अनौठो खालका विकृतिहरु झाँगिएका त छैनन् ? भ्रष्टाचार, जनसम्बन्ध, व्यवहारसँग जोडिएको होस् । पारदर्शिता छ कि छैन ? कमिटीभित्र सबै कुराहरु छलफल हुन्छ कि हुँदैन ? कामको बाँडफाँड गरिन्छ कि गरिँदैन ? योग्यता क्षमताको मूल्याँकन गरिन्छ कि गरिँदैन ? यी जम्मै कुराहरुलाई हेर्नुहोस् । किनभने अन्त्यमा तपाईको व्यवहारले नै मान्छेको मन जित्छ ।’

भाषणको प्रतिष्पर्धामा जान चाहन्न भन्दै आफ्नो सम्बोधन सुरु गरेका पूर्वप्रधानमन्त्री नेपालले सामाजिक न्याय सहितको समृद्धि मुठ्ठी भरको जमातका लागि नभएको भन्दै शिक्षा, रोजगारी तथा जनतासँग जोडिएको गाँस बासका विषयलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

समाजवादको कुरा गर्दा सोभियत संघ विघटन भएर पतन भएको, चीन ठुलो संकटमा पुगेर पनि नयाँ गतिका साथ अघि बढेको प्रसंग उल्लेख गर्दै उनले कमजोरी खोज्ने र हटाउने बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औल्याए । उनले चुनावदेखि नै प्रगति गरेको भएपनि यथेष्ट प्रगति नभएको भन्दै दुई तिहाईको दम्भमा बस्ने अवस्था नरहेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘प्रगति यथेष्ट छैन । अझै पनि हामीले ५५ प्रतिशत जनताको मात्रै मत प्राप्त गरेका छौ । ख्याल गर्नुहोस् दुई तिहाई होइन । धेरै जनताको विश्वास जित्न बाँकी छ । धेरै जनताको माझमा पुग्न बाँकी छ । धेरैलाई हामीले आफ्नो पक्षमा ल्याउनु जरुरी छ । त्यो के बाट गर्न सक्छौ ? राम्रो कामबाट ।’