काठमाडौं । नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ । पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT


उनका अनुसार विराटनगर, पोखरा, जनकपुर वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीमा गरिने कार्यक्रमलाई पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको छ


ADVERTISEMENT

# # #


कार्यक्रम तालिकाअनुसार आगामी जेठ ११ गते विराटनगर, १२ गते जनकपुर, १३ गते वीरगञ्ज, १७ गते भैरहवा, १८ गते नेपालगञ्ज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौँमा भने पार्टी एकीकरणको दिनलाई नै आधार मानिने सहअध्यक्ष श्रेष्ठले बताए ।

पार्टी एकीकरणपछि भएको पहिलो पदाधिकारी बैठकले काठमाडौँसहित देशका आठ शहरमा कार्यक्रम गर्ने निर्णय गरेको थियो । यही वैशाख २३ गते सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण भई नयाँ समाजवादी पार्टी घोषणा गरिएको थियो ।

सहअध्यक्ष श्रेष्ठले प्रदेश र जिल्ला तहमा जनसङ्गठन एकीकरणलाई प्रभावकारी रुपमा अघि बढाइने बताए । समाजवादी पार्टीको प्रदेश नं ६ र ७ बाहेक सबै प्रदेशमा सङगठन रहेको पनि उहाँले जानकरी दिए । समाजवादी पार्टीका १९ सांसद छन् ।

राजपासँग वार्ता पहल

समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० सँग पार्टी एकीकरणका लागि पहल थालेको छ । पार्टीका सहअध्यक्ष श्रेष्ठको संयोजकत्वमा गठित पाँच सदस्यीय वार्ता टोलीले आवश्यक छलफल शुरु गरेको सो पार्टीले जनाएको छ ।

राजपासहित विचार र सिद्धान्त मिल्ने दल एवं सङ्गठनलाई एकताका लागि अपिल गरिएको संयोजक श्रेष्ठले उल्लेख गरे । वार्ता समितिमा पर्शुराम खापुङ, नवराज सुवेदी, डम्बर खतिवडा र रामसहाय यादव सदस्य छन् ।