काठमाडौं– ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि १४ हजार ८४३ चालकलार्ई प्रशिक्षण दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधार तथा प्रदूषण नियन्त्रणका लागि गरेको तीन महीने कार्ययोजनाअन्तर्गत १४ हजार ८४३ मोटरसाइकल तथा स्कुटर चालकलाई प्रशिक्षण दिएको हो ।


ADVERTISEMENT


महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले विभिन्न निकायसँग मिलेर काम गरिरहेको जानकारी दिए । गत चैत २१ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई नमूना राजधानीका रुपमा विकास गर्न गरेको प्रतिबद्धताअनुसार ट्राफिक प्रहरीले तीन महिने कार्ययोजना बनाएर विभिन्न काम गर्दै आएको छ ।


ADVERTISEMENT

# # #


महाशाखाले सुकेधारामा दुई, गौशालाचोकमा तीन, धुम्बाराहीमा एक, चप्पल कारखानामा एक, शङ्कपार्कमा एक, स्टार अस्पतालमा एक र धोविघाटका दुई स्थानमा जेब्राक्रसिङ निर्माण, चावहिल र सुकेधारामा स्टपलाइन निर्माण, चावहिलदेखि सुकेधारासम्म र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जदेखि बालुवाटारसम्म सेन्टर लाइन निर्माण गरेको छ ।

यसैगरी, बालकुमार पुल, गोपीकृष्ण पुल, नयाँ बसपार्क पुल, हनुमानस्थान पुलको करिडोर निर्माण, कोटेश्वरदेखि गौशाला, खानी विभागदेखि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज, रातोपुलदेखि गौशालाचोक, थापाथलीदेखि सोल्टीमोडलगायतका क्षेत्रको फुटपाथसमेत व्यवस्थापन गरेको छ ।

महाशाखाले उपत्यकामा सञ्चालित ८८३ सवारी साधनलाई प्रदूषण जाँचमा असफल भएको भन्दै कारवाही समेत गरेको छ । ट्राफिक प्रहरीले उपत्यकामा थोरै जनशक्ति भए पनि उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउन विभिन्न निकायसँग सहकार्य गरेर काम गरिरहेको छ ।

साँघुरो बाटो र धेरै सवारी साधन उपत्यकामा भित्रिँदा दिनानुदिन ट्राफिक चापसमेत हुने गरेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर सञ्चालनमा रहेका ३२ लाख सवारी साधनमध्ये छन् काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारी साधन गुडिरहेका छन् ।रासस