काठमाडौँ– नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारलाई मुल नारा परिर्वतन गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै सांसद थापाले सम्मृद्ध नेपाल सुखी नेपाली नारा परिर्वतन गरेर ‘सम्मृद्ध दमक सुखी केपी ओली’ भन्ने नारा राख्न सुझाव दिएका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीको लेटरप्याड प्रयोग गरि आफ्नो निर्वाचन क्षेत्रको लागि सिफारिस गरिएका योजनाहरुको फेहरिस्तका सन्दर्भमा उनले यस्तो सुझाव दिएका हुन् । उनले सरकारको नीति तथा कार्यक्रम अलमलिएको निबन्ध जस्तो भएको टिप्पणी पनि गरे ।


ADVERTISEMENT

# # #


महत्वाकांक्षा विहिन, अभिलाशा सून्य सपनारहित नीति तथा कार्यक्रमले सरकारले सपना देख्ने क्षमता पनि राखेको छैन भन्ने देखाएको उनको तर्क थियो । कार्यपालिका,व्यवस्थापिका,न्यायपालिका,अख्तियार, मानवअधिकार आयोग लगायत संवैधानिक निकायलाई पेल्ने काम गरेको सरकारले एक बर्षमा कुनै पनि उपलब्धि हासिल गर्न नसकेर आत्मप्रशंसामा मात्रै अल्झिएको थापाको टिप्पणी छ ।

उनले गत वर्ष ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने दाबी गरिएपनि त्यो लक्ष्य पुरा हुन नसक्नुको कारण विश्लेषण नगरिएको, पूँजीगत खर्च गर्न नसकेको तथा आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बिमाको बारेमा नै सरकार स्पष्ट हुन नसकेको दाबी गरे । नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको सरकारको उपलब्धिलाई उनले सरकारको आत्मप्रशंसा मात्रै भएको टिप्पणी गरे ।

आत्मप्रशंसाका ४० बुँदा यथार्थ र तथ्यपरक भन्दा कपटपूर्ण, झुटा र भ्रामक भएको दाबी थापाको छ । सरकारले राष्ट्रपतिलाई उक्साएर विवादमा ल्याउने काम गरेको भन्दै नीति तथा कार्यक्रम सम्बोधनका क्रममा प्रयोग गरिएको मेरो सरकार प्रति पनि उनले गम्भीर आपति जनाए ।

उनले भने, ‘मेरो केही प्रश्नहरु छन्, महामहिम राष्ट्रपति ज्यूको सरकारलाई । यो बर्ष तपाईको सरकारले संसदलाई आदेश दियो, अदालतलाई र्तसायो, संवैधानिक आयोगलाई गिजल्यो । के यो बर्ष पनि यही नीतिलाई निरन्तरता दिनेछ ? चालू बर्षमा तपाईको सरकारले नागरिकको आधारभूत स्वतन्त्रता खोस्न कानुन बनाउने प्रयास गर्यो । भएको कानुनको दुरुपयोग गर्यो । के यो बर्ष पनि तपाईको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ?

काँग्रेसका युवा नेता समेत रहेका थापा यतिमै रोकिएनन् । उनले थप प्रश्नहरु पनि गर्दै भने, ‘राष्ट्रपतिलाई राजाको भद्धा नक्कल गर्न उक्साएर राष्ट्रपतिको संस्थालाई बद्नाम गराउने काम गर्यो । के यो वर्ष पनि तपाईको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ रु संघीयता कार्यान्वनयका लागि बनाउनुपर्ने संरचना बनाएन, आवश्यक कानुन बनाएन, नियम बनाएन, कर्मचारी पठाएन, स्रोत र साधन मुठ्ठी कसेर राख्यो तर आदेश भने दियो । मुख्य मन्त्रीलाई अञ्चलाधीश जस्तो स्थानीय तहलाई विभाग जस्तो व्यवहार गर्यो ।

के यो बर्ष पनि तपाईको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ रु भ्रष्टाचार गर्दै गर्दिन, हुन पनि दिन्न्, भन्या भए विद्या नष्ट भनेर कसम खायो तर एक से एक काण्डहरुमा प्रधानमन्त्रीले अनुसन्धानलाई प्रभावित गर्ने गरिकन पर्ने पहिलेही फैसला सुनाउनुभयो । यो दोषी यो निर्दोषी भनेर । के यो बर्ष पनि तपाईको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ?’

थापाले अन्तिममा भने, ‘शासकीय क्षमता बढाउन गर्नूपर्ने संरचनागत प्रक्रियागत सुधारहरु केही पनि नगर्ने तर चटकहरुबाट चमत्कार हुन्छ भन्ने ठानिरहने तपाईको सरकारले गरेको यो बर्षको नीतिलाई आउँदो बर्ष पनि निरन्तरता दिनेछ ? यो महामहिम राष्ट्रपतिज्यूको सरकारलाई यो प्रश्न सोध्न चाहन्छु ।’