काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म रु छ अर्ब ३० करोड ४६ लाख खर्च भएको जनाएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि आयोगलाई रु १० अर्ब २८ करोड रकम उपलब्ध गराएको थियो ।


ADVERTISEMENT


निर्वाचनका लागि प्राप्त भएको रकममध्ये आर्र्थिक वर्ष २०७३/७४ मा खर्च हुन बाँकी रहेको रु तीन अर्ब सरकारलाई नै फिर्ता पठाएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयलाई रु तीन अर्ब १२ करोड ५१ लाख ९९ हजार र क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयलाई हालसम्म रु एक अर्ब ३१ करोड २३ लाख ७० हजार निकासा भएको आयोगले जनाएको छ ।

क्षेत्रीय तथा जिल्ला प्रशासन कार्यालयलाई रु ७६ लाख ७५ हजार र गृहमन्त्रालयलाई रु दुई करोड ६६ लाख ५८ हजार निकासा भएको पनि आयोगले जनाएको छ ।

त्यस्तै निर्वाचन आयोगबाट स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म रु एक अर्ब ५५ करोड ६५ लाख ६० हजार खर्च भएको जनाएको छ । निर्वाचन आयोगको केन्द्रबाट मतपत्र छपाई, मतपेटिका खरिद, मतदाता परिचयपत्र छपाइ, मतदाता शिक्षा, कर्मचारीको भत्ता, तालीम, मसी, ढुवानीलगायतका शीर्षकमा उक्त रकम खर्च भएको थियो ।

स्थानीय तह निर्वाचनका लागि भारतले केही यातायाताका साधन र चीनले विभिन्न ११ प्रकारका निर्वाचन सामग्री सहयोग स्वरुप उपलब्ध गराएको थियो । सरकारले निकासा गरेको बजेटमध्ये रु एक अर्ब २५ करोड ४५ लाख बाँकी रहेको आयोगले जनाएको छ ।