खस्यौली– प्रदेश नं ५ को प्रदेशसभाले आज प्रदेश नं ५, सङ्घसंस्थाको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले सो विधेयक निर्णयार्थ सभामा प्रस्तुत गरेपछि विधेयक पारित भएको थियो । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।


ADVERTISEMENT


यसअघि प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गाउँसभा र नगरसभाको कार्यसञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि सभामा प्रस्तुत भएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेयले प्रदेश नं ५, बालबालिकाको हक अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५, खेलकूदसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गरे ।

त्यसअघि शून्य समयमा दिनेश पन्थीले खानेपानीको कारणले गुल्मीमा झाडा पखालाबाट मृत्यु भएको विषय दुःखद् भएको औँल्याउँदै सरकार गम्भीर हुन आवश्यक भएको बताए । विषेश समयमा वीरबहादुर रानाले व्यवस्थासँगै संरचना परिवतर्न भए पनि संस्कार परिवर्तन नभएको उल्लेख गर्दै राजनीतिमा नैतिकताको खडेरी देखिएको बताए ।

अर्का प्रदेशसभा सदस्य युवराज खनालले सार्वजनिक वा सरकारी भवन अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिँदै कृषिमा अनुदान उत्पादनका आधारमा वितरण गर्न आग्रह गरे । सो अवसरमा प्रदेशसभा सदस्य कल्पना पाण्डे, अम्मरबहादुर डाँगी, आशा स्वर्णकारलगायतले सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रदेशसभामा प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रमाणीकरण गर्नुभएका दुई विधेयकसम्बन्धी पत्र सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाएका थिए ।

प्रदेशसभामा उठेका विभिन्न विषयको जवाफ दिँदै भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा उठेका सबै विषयको सम्बोधन भएको उल्लेख गर्दै गुल्मीमा भएको झाडापखालाबारे बुझ्न जनशक्ति परिचालन भएको बताए ।