चितवन – नारायणी नदी किनारमा गण्डकी, नारायणी महाआरती शुरु गरिएको छ । गण्डकी नारायणी संरक्षण महाआरती परिषद्ले यही वैशाख १ गतेदेखि हरेक साँझ सूर्यास्तको समयमा महाआरती शुरु गरेको हो ।


ADVERTISEMENT


नारायणगढबजार नजिकै नारायणी किनारमा महाआरती शुरु गरिएको हो । परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजका अनुसार शुरुमा नारायणी नदी तिरमा जलसँगै रहेर बैद्धिकमन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजाअर्चना गर्ने गरिन्छ । त्यसलगत्तै नजिकै धार्मिक विधिअनुसार करीब ५० मिनेटसम्म आरती गरिने उनले बताए । सो क्रममा आरतीसँगै मन्त्र उच्चारण गरी कलाकारद्वारा सङ्गीतमय आरती भजनकीर्तन गर्ने गरिन्छ ।


ADVERTISEMENT

# # #


आरतीमा तीन पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्ने उनले बताए । आरतीले पितृमोक्षका साथै मनोकामना पूरा हुने शास्त्रीय विश्वास रहेको भारद्धाजले बताए । उनका अनुसार आरतीका लागि मासिक रु एक लाख ८० हजार हाराहारी खर्च हुने अनुमान छ । हालसम्म खर्चको व्यवस्थापन परिषद्ले गर्दै आएको भए पनि यसलाई अखण्ड बनाउनका लागि दाताको भर पर्नुपर्ने देखिएको छ ।

नेपालका पशुपति र जनकपुरको गङ्गासागरमा नित्य सन्ध्या आरती हुँदै आएको छ । भारतको हरिद्धार र बनारसमा पनि नियमित आरती हुने गर्दछ । नारायणीमा शुरु गरिएको आरतीलाई सामुदायिक बनाउन स्थानीय आमा समूह एवं सङ्घसंस्थालाई पत्राचारसमेत गरेको उनले बताए । सनातन संस्कृतिको संरक्षणका साथै नदी संरक्षणका लागि महाआरती थालिएको उनको भनाइ छ ।

महाआरतीको समयमा स्थानीय भक्तजन अवलोकनका लागि ठूलो सङ्ख्यामा सहभागी हुन थालेको परिषद्ले जनाएको छ । यसले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास छ । रासस