काठमाडौँ – थाइल्याण्डमा जारी एसियन क्रिकेट काउन्सिल (एसीसी) यू-१६ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ । बुधबार भएको खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको हो ।


ADVERTISEMENT


टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपाली यू-१६ टोलीले निर्धारित ३५ ओभर खेल्न एक बल बाँकी छँदै सबै विकेट गुमाएर १४१ रन बनायो। १४२ रनको चुनौति पच्छ्याएको मलेसियाले ३३.२ ओभरमा सबै विकेट गुमाउँदै १०२ रन मात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


मलेसियाका लागि वान अहमद असयार्फ र सरभिन सुरेन्द्रनले उत्कृष्ट ब्याटिङ गरेपनि टिमलाई जिताउन सकेनन् । उनीहरुले छैटौँ विकेटका लागि ५३ रनको साझेदारी गरे । अकमदले ४६ बलमा १७ रन बनाए । यस्तै सरभिन ८० बलमा ४६ रन बनाएर नटआउट रहे । त्यसक्रममा उनले ३ चौका प्रहार गरे । किसन कुमारले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

नेपालका प्रशान्त महत, रमेश कुर्मी र तिलक राजभण्डारीले समान २/२ विकेट लिए । यस्तै निखिल कुमार सिंह र प्रशान्त सिंहका नाममा समान १/१ विकेट रह्यो ।

यसअघि नेपालका लागि अनिश भट्टराईले सर्वाधिक ३४ रन प्रहार गरे । त्यसक्रममा उनले ४२ बलमा ५ चौमन प्रहार गरे । कप्तान विशाल विक्रम केसीसंग ५८ बलमा ५३ रनको साझेदारी गर्दै अनिशले नेपाली इनिङ उकासे ।

यस्तै कप्तान विशालले ३० बलमा दुई चौकाको मदतमा २८ रन बनाए । पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका दीपक बोहरा र अर्जुन कुमालले समान १६/१६ रन जोडे । यस्तै निखिल कुमार सिंह १२ रनमा आउट हुँदा सुवास ऐर ११ रनमा पेवेलियन फर्किए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

यता मलेसियाका लागि सिदाद्र्ध कार्थिकले सर्वाधिक ४ विकेट लिए । यस्तै साचिनु हेटिज र लोकमान नुर हाकिम सहारले समान २/२ विकेत हात पारे ।

आठ टिम सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । समूह ए मा नेपालसंगै मलेसिया, आयोजक राष्ट्र थाइल्याण्ड र म्यानमार रहेका छन् ।  आजको जितसंगै नेपाल समूह तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यता मलेसिया तीन खेलमा दुई जितका साथ समूह तालिकाको दोस्रो स्थानमा रहेको छ । प्रत्येक समूहका शीर्ष दुई टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

यसअघि नेपालले म्यानमारलाई सात विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल बिहीबार थाइल्याण्डसंग खेल्नेछ ।