रामचन्द्र पाण्डे, काठमाडौं  – प्रदेश नं २ मा माध्यामिक शिक्षा परीक्षा (एसईई) सुरु हुनु अघि नै प्रश्नपत्र बाहिरिएपछि २१ गते सम्मका सम्पूर्ण परीक्षा अनिश्चितकालका लागि स्थगित भएका छन् । अन्य प्रदेशका परीक्षा भने जारी रहनेछन् ।


ADVERTISEMENT


शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रदेश नं २ का सम्पूर्ण केन्द्रमा हुने सबै विषयका परीक्षाहरु अर्को सूचना सार्वजनिक नभएसम्मका लागि स्थगित गर्न सरकारले मन्त्रालयमार्फत राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको बताए । तर २२ गते हुने विज्ञान विषयको परीक्षा भने सोही दिन सञ्चालन हुनेछ ।


ADVERTISEMENT

# # #


चैत मसान्तभित्रै परीक्षा सम्पन्न गर्नेगरी स्थगित विषयको लागि सूचना  निकालिने उनले बताए । ‘विज्ञान विषयको परीक्षा तोकिएकै २२ गते हुनेछ । बाँकी अन्य विषयको परीक्षाको तालिका यसै महिनाभित्र हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गर्नेछ’ मन्त्री पोखरेलले भने, ‘प्रदेश नं २ बाहेक अन्य प्रदेशमा परीक्षा यथावत रुपमा सञ्चालन हुनेसमेत जानकारी गराउँछु । उनका अनुसार यसअघि सञ्चालन भइसकेको परीक्षा भने रद्द हुने छैन

उनले प्रश्नपत्र आउट गर्नुलाई आपराधिक घटना भएको र संलग्नलाई कारबाही गरिछाड्ने बताए ।

मन्त्री पोखरेलका अनुसार यसबाट प्रदेश नं २ अन्तर्गतका २६२ परीक्षा केन्द्रहरुबाट परीक्षामा सहभागी भएका ७० हजार ५६८ जना परीक्षार्थीहरु प्रभावित भएका छन् ।

उनले एसइई परीक्षाको प्रश्नपत्र निर्माण गर्दा उच्च सुरक्षा अपनाइने बताए । प्रश्नपत्र तीनवटा सुरक्षा निकायको तीनवटा सुरक्षा घेराभित्र जनकशिक्षा सामग्री केन्द्रमा छापेर सुरक्षाका साथ परीक्षा केन्द्रमा पठाइने गरेको उनले बताए ।

परीक्षा सुरु हुनुभन्दा तीन दिनअघि मात्रै परीक्षा केन्द्रको नजिकको प्रहरी केन्द्रमा प्रश्नपत्र पुर्याइने र परीक्षा सुरुहुने दिनको एक घण्टाअघि मात्रै केन्द्राध्यक्षले प्रश्नपत्रको बाकस बुझेर रुजु गरी सुरक्षाकर्मीसहित परीक्षा केन्द्रमा लैजाने गरिएको मन्त्री पोखरेलले बताए ।

उनले भने, ‘यती धेरै सुरक्षा सावधानीका बीच प्रश्नपत्र बाहिरिनु गम्भीर घटना हो । सरकारले यसको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने कुरा सबैमा विश्वास दिलाउन चाहन्छु ।’