काठमाडौं – किङ्स ११ पञ्जाबले जयपुरमा पहिलो पटक राजस्थान रोयल्सलाई पराजित गर्‍यो । तर, यो जित विवादमुक्त भने रहेन । खासगरी पञ्जाबका कप्तान रविचन्द्रन आश्विनले राजस्थानका ओपनर जोस बटलरलाई गरेको ‘रन आउट’ क्रिकेटप्रेमीबीच चर्चाको विषय बनेको छ ।


ADVERTISEMENT


दोस्रो इनिङमा खेल राजस्थानको पकडमा थियो । बटलर आफ्नो चिरपरिचित विष्फोटक अन्दाजमा खेलिरहेका थिए र उनको व्यक्तिगत खातामा ६९ रन जम्मा भइसकेको थियो । जितका लागि ४४ बलमा ७७ रन चाहिएको अवस्थामा राजस्थानसित ८ विकेट सुरक्षित थियो । त्यति नै बेला आश्विनले अस्वभाविक तरिकाले बटलरको विकेट निकाले ।


ADVERTISEMENT

# # #


यसरी गरेका थिए आउट : 

आश्विनले बल फ्याक्न थाल्दा बटलर नन स्ट्राइकर इन्डमा थिए । दौडिदै गर्दा आश्विनले थाहा पाए कि बटलर आफ्नो क्रिजबाट थोरै अगाडि छन् । त्यसैले उनले बल फ्याक्न छोडेर बटलरको स्टम्प भत्काइदिए । अनि आउटको अपील गरे । बट्लर स्तब्ध बने ।

यो विषय निर्णयका लागि थर्ड एम्पायरमा पुग्यो । थर्ड एम्पायरले सहजै आश्विनको पक्षमा निर्णय दिए र बटलर क्रिज छोड्न वाध्य भए । असामान्य तरिकाले आउट भएर क्रिज छोड्नुपर्दा बट्लर निकै आक्रोशित देखिएका थिए ।

उनले आश्विनसित भनाभन गरेको पनि देखियो । अन्ततः यो क्षण नै खेलमा ठूलो टर्निङ प्वाइन्ट सावित भयो । दबावमा आएको राजस्थानले त्यसपछि लगातार विकेट गुमायो र १४ रनले खेल पञ्जाबलाई सुम्पियो ।

आश्विनले गरेको रनआउट नियम संगत नै थियो । क्रिकेटको नियममा यदि नन स्ट्राइकरले क्रिज छोडेको अवस्थामा बलरले बल नफ्याकी उसलाई रन आउट गर्न सक्छ । तर, कतिपय बलर भने यस्तो गर्न रुचाउँदैनन् । यसलाई स्पोर्टस म्यानसिप भन्ने गरिन्छ ।

आश्विनले गरेको रन आउट स्पोर्ट्सम्यानसिपविरुद्ध भएको कतिपयले तर्क गरेका छन् । उनीहरुको भनाइमा आश्विनले बटलरलाई सतर्क गराउनुपर्थ्यो न कि रन आउट । तर, आश्विनले भने आफ्नो कदमको बचाउ गरेका छन् । खेलपछिको पत्रकार सम्मेलनमा उनले भने, ‘नियममा जे छ त्यहीअनुसार मैले आउट गरेको हुँ । यसमा मलाई कुनै गल्ती महसुस भएको छैन ।’

 अश्विनलाई पश्चाताप हुनेछ : इओइन मोर्गान

क्रिकेट पण्डितहरुले आश्विनको रन आउट आफैंमा गलत नभएको बताएका छन् । तर केही असन्तुष्टि पनि आएका छन् । राजस्थान रोयल्सका प्रशिक्षक समेत रहेका अष्ट्रेलियाली पूर्वखेलाडी शेन वार्नले अश्विनको आलोचना गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘कप्तान र एक खेलाडीका रुपमा मलाई अश्विनले निराश तुल्याए…’


यस्तै इङल्याण्डका कप्तान इओइन मोर्गानले ट्वीटमा भनेका छन्, ‘मलाई विश्वास लागिरहेको छैन कि म के देखिरहेको छु..। एक् समय आउनेछ, जब मलाई लाग्छ अश्विनलाई यसको पश्चाताप हुनेछ ।’

 

अन्तर्राष्ट्रिय म्याचहरुमा पनि यसरी आउट गर्ने चलन छ । यद्यपि, कतिपय महत्वपूर्ण म्याचमा बलरले ब्याट्सम्यानमाथि दया देखाएका उदाहरण पछि छन् । सन् १९८७ को विश्वकप अन्तरग वेस्ट इन्डिज र पाकिस्तानबीचको म्याचलाई सम्झिन सकिन्छ । वेस्ट इन्डिजका कोर्टनी वाल्सले पाकिस्तानका ब्याट्सम्यान सलीन जाफरलाई जीवनदान दिएका थिए, जब उनी क्रिजबाट बाहिर थिए । चाहेको भए रन आउट गर्न सक्थे वाल्सले तर गरेनन् ।

आश्विन भने त्यतिबेलाको म्याचको आफूलाई कुनै मतलब नभएको बताउँछन् । ‘त्यो म्याचमा न म थिएँ, न बटलर थिए । त्यसलाई अहिले सम्झिनुको कुनै तुक छैन । मुख्य कुरा नियममा के लेखिएको छ भन्ने हो’ उनले भने ।