काठमाडौं । दुई तिहाई बहुमत नपुग्ने भएपछि संविधान संशोधन विधेयक अघि नबढाइने भएको छ । अब राजपाका अन्य मागहरुलाई सम्बोधन गरेर उसलाई चुनावमा ल्याउने गृहकार्यमा सरकार जुटेको छ ।


ADVERTISEMENT


सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तार रोकेर संशोधन विधेयक अघि बढाउने गृहकार्य थालेका थिए । तर, प्रमुख विपक्षी एमालेले सहमति जनाएन । र, राप्रपाको अन्तरविरोध पनि हल भएन, जसले गर्दा संविधान संशोधन प्रस्तावमा दुई तिहाई बहुमत नपुग्ने अवस्था देखियो ।


ADVERTISEMENT

# # #


यही अवस्थामा संशोधन विधेयकलाई संसदमा निणयार्थ पेश गर्दा राप्रपाकै केही सांसदले भोट नहाल्ने र फेल हुने अवस्था रहेको सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

मंगलबार साँझ राष्ट्रिय जनता पार्टीका नेताहरुलाई बोलाएर कांग्रेस र माओवादी नेताहरुले संविधान संशोधनका लागि दुई तिहाई नपुग्ने अवस्था आएको जानकारी दिएका थिए ।

नेताहरुका अनुसार भोटिङमा लगेर फेल गर्नु भन्दा अब संशोधन विधेयकलाई फेरि होल्ड गर्ने समझदारी भएको छ ।

यसमा राजपा सकारात्मक छ । स्रोतका अनुसार मंगलबार साँझ भएको कांग्रेस र माओवादी नेताहरुसँगको बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संशोधन पारित हुँदैन भन्ने आफूहरुलाई जानकारी रहेका बताए । भोटिङमा लगेर एमालेलाई ‘एक्सपोज’ गरौं भने पनि एमाले आफैंले संशोधन हुन दिन्नौं भनेकाले यथास्थितिमा राख्न उपयुक्त हुने उनको समेत राय रहेको एक नेताले बताए ।

यद्यपि बैठकमा सहभागी राजपाका अन्य नेताहरुले भने संशोधनका लागि अझै प्रयत्न गर्नु पर्नेमा जोड दिएका छन् ।