काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख बनाउन नमानेको आरोप लगाउदै महिला प्राध्यापक र विद्यार्थीहरुले आज बागबजारस्थित पद्मकन्या क्याम्पसमा नारावाजी गर्दै धर्ना दिएका छन् ।


ADVERTISEMENT


गत फागुन २७ गते उपकुलपति कार्यालयमा, २८ गते पदमकन्या क्याम्पस प्रमुख, २९ गते प्रशासन र ३० गते त्रिविका शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी गर्दा समेत सुनुवाई नभएपछि महिला प्राध्यापक र विद्यार्थीहरुले आन्दोलन जारी राखेका हुन् ।


ADVERTISEMENT

# # #


आन्दोलनकारीले त्रिविका ६१ वटा आंगिक क्याम्पसमध्ये ५ वटामा मात्र महिला क्याम्पस प्रमुख रहेकाले ३३ प्रतिशत क्याम्पस प्रमुख बनाउन माग गर्दै आएका छन् ।

‘पाटन क्याम्पसका लागि महिलाको नाम सिफारिस हुँदा समेत नियुक्त गरिएन ।’ आन्दोलनमा संलग्न प्राध्यापक निर्मला उप्रेतिले भनिन्, ‘अहिले महिलाले अध्ययन गर्ने एकमात्र पद्मकन्या क्याम्पसमा पनि महिलाको नाम सिफारिस हुँदा समेत त्रिवि पदाधिकारीले अनेक जालझेल गरेर पुरुष नियुक्त गर्न खोजेकाले हाम्रो आन्दोलन जारी रहेको हो ।’

उप्रेतिका अनुसार, त्रिविका उपकुलपति खनियाँले आन्दोलनकारीलाई झुठ बोल्दै आएका छन् । सुरुमा तीन जनामध्ये एक जना महिलाको नाम सिफारिस भई आए क्याम्पस प्रमुख नियुक्त गर्ने आश्वासन दिएका खनियाँले अहिले आएर महिला एक नम्बरमा सिफारिस नभएको भनेर टारिरहेका छन् ।

‘अहिले पुरुषलाई नै क्याम्पस प्रमुख नियुक्तिको पत्र बनेको सुनिएको छ । हामी त्यसको विरोधमा उत्रेका छौ ।’ उनले भनिन्, ‘अनुभव र योग्यता अनुसार पहिलो नम्बरमा हुनु पर्ने महिला प्राध्यापकको सिफारिस तेस्रो नम्बरमा पार्न मै उपकुलपतिको हात छ । पहिला तीन जनाभित्र पार्दा हुन्छ भन्ने अहिले पहिलो नम्बरमा परेन भन्ने ?’

पद्मकन्या क्याम्पसमा महिला प्रमुख नियुक्ति र त्रिविका क्याम्पसहरुमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख बनाउन आन्दोलन जारी राखिने उप्रेतिले बताइन् ।

पद्मकन्यामा पुरुष क्याम्पस प्रमुख नियुक्त गरे पठनपाठनदेखि प्रशासन समेत ठप्प पार्ने चेतावनी आन्दोलनकारीले दिएका छन् ।