विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


विराटनगर विमानस्थलमा आज पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताएका हुन् । “जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो– सरकारले चिन्दैन,” उहाँले भन्नुभयो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै प्रतिबन्ध लगाइएको जनाए ।

विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन प्रधानमन्त्रीले नेताहरुलाई आग्रह गरे ।

“नेपालका नेताजीहरुलाई आग्रह गर्न चाहन्छु, आफैँलाई जवाफ दिन नसक्ने कुराहरु नगर्नुहोस्, उनको पार्टी कही दर्ता भएको थियो र ? दर्ता छैन । नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो,” उनले भने, “बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने । बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? गम्भीर राजनीति गर्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले संविधान विपरीत, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने बताए । प्रधानमन्त्रीको प्रश्न छ, “नेपालमा शान्ति चाहियो कि चाहिएन ? वार्ता समिति बनाएको हो, गर्दिन भनेको होइन ? सभ्य समाजले सुन्न सक्ने माग छ ? के–के माग छ ? सुन्न सक्ने छन् ?’