काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको उपचारका लागि आइतबार साँझ अमेरिका जाँदैछन् ।


ADVERTISEMENT


प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जानेछन् । उनीहरु साँझ पाँच बजे अमेरिका प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


दुई महिनाअघि पनि प्रचण्ड सीतालाई लगेर अमेरिका जाने तयारीमा थिए । तर भेनेजुएला प्रकरणमा नेकपाको तर्फबाट जारी गरिएको विज्ञप्तिले आलोचना भएपछि प्रचण्डले अमेरिका जाने कार्यक्रम स्थगित गरेका थिए ।

त्यसको केही दिनपछि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रचण्डलाई भेटेर अमेरिका जान सहजीकरण गरिदिएका थिए ।

सीता पार्किन्सन रोगले पीडित छिन् । छोरा प्रकाश दाहालको असामयिक निधनपछि उनलाई झन् रोगले च्यापेको छ ।

यसअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो । तर पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएको छोरी गंगाले बताइन् ।

उपचारकै सिलसिलामा गत कात्तिक महिनामा प्रचण्ड र सीताले म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेको तस्वीर सामाजिक सन्जालमा भाइरल भएको थियो ।