– रमेश पौडेल, अध्यक्ष, युवा संघ नेपाल

पृथकतावादको मुद्दा उठाएर विगत केही वर्षदेखि तराई मधेशमा आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएका सीके राउत मूलधारको राजनीतिमा आउँछु भनेपछि सरकारले सहमति गरेर मूलधारको राजनीतिमा ल्याएको छ ।


ADVERTISEMENT


नेपाल सरकारकासंग सिके राउतले ११ बुँदामा सहमति गरेका छन् । नम्बर एक देखि ११ बुँदासम्म प्रष्टसंग राष्ट्रिय अखण्डता, स्वाधिनता, नेपालीहरुको स्वाभिमान वा देशको एक चिम्टी माटो दिने, गुमाउने कुराका लागि जनमत संग्रह गर्ने भनेर कतै भनिएको छैन । दुई नम्बर बुँदालाई लिएर अहिले कतिपयले जनमत संग्रह भनेर अपव्याख्या गरेका छन् । सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्रीले, संसदमा गृहमन्त्रीले प्रष्ट पारिसक्नु भएको छ । आजपनि प्रधानमन्त्रीले प्रष्ट पार्नुभएको अवस्था छ । सिके राउतको संगठनकै सहसंयोजकले पनि हाम्रो विषय जनमतसंग्रह होइन भन्ने कुरा गरेका छन् ।


ADVERTISEMENT

# # #


समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा र मूलधारको राजनीतिमा सीके राउत आउँछु भन्दै गर्दा तराई मधेशमा केही युवाहरु राउतको अभियानबाट दिग्भ्रमित थिए । मान्छेहरु झुक्किँदै थिए ।

त्यो भ्रमको जालो अब हटेको छ । यो देश कहिल्यैपनि कसैको गुलाम भएन । कहिल्यै तराई पहाड हिमाल छुट्टिएन । त्यो भएर यो एकतालाई अक्षुण राख्नुपर्छ । यसको स्वाधिनता र स्वाभिमानलाई हाम्रो पुस्ताले पनि बचाएर राख्नुपर्छ । त्यसका लागि जस्तोसुकै मूल्य चुकाउन पनि हामी तयार छौँ । यही शर्तमा सीके राउतलाई मूलधारमा ल्याइएको हो ।

सीके राउतलाई यसैगरी छोडिदिएको भए झन् द्वन्द्व हुन्थ्यो । द्वन्द्व पैदा हुँदा राज्यले दमन गर्नुपर्थ्यो । देश झन अस्थिरता र अशान्तिको चंगुलमा फस्थ्यो । वार्ताद्वारा सहमत गराएर त्यो कुरा रोक्नु सरकारको दायित्व हो । सरकार सबैको अभिभावक हो । भलै कोही दिमागमा गलत सोच लिएर हिँडेको होला, तर सरकार त्यसको पनि अभिभावक हो । उसलाई सही मार्गमा ल्याउनु पनि सरकारको दायित्व हो । त्यही अनुसार नै सीके राउत मूलधारमा आएका छन् ।

त्यसकारण सरकारको यो कदम इतिहासमा स्वर्णिम अक्षरले लेखिने कुरा हो । यो चानचुने कुरा होइन । देशलाई बचाउने कुरा, यसलाई दरिलो बनाउने कुरा हाम्रो कार्यभार हो । सिके राउतसंगको कुरा सल्टाउँदै गर्दा देशमा विप्लवले चुनौति दिइरहेका थिए । उहाँहरुले नेकपाकै मुक्तिको झण्डा प्रयोग गरिरहुन भएको छ । अब मुलुकलाई शान्त बनाउनका लागि उहाँहरुलाई पनि शान्ति प्रक्रियामा आउन आग्रह गर्छु ।

सरकारसंगको सहमतिपछि सीके राउतका कार्यकर्ताले जुन किसिमको नारा लगाए, जसरी प्रदर्शन गरे, त्यसले गर्दा सीके राउतले सहमति उल्लंघन गरेकी भन्ने शंका पैदा भएको छ । यो कुराले सीके राउतको जीवनमा पनि फाइदा गर्दैन र विश्वासको शंका पैदा हुन्छ । सहमति पालना गर्ने हाम्रो जति दायित्व छ, त्यती नै उनको पनि दायित्व छ । यदि त्यसो भएन भने सरकार आफ्नो कदम चाल्न बाध्य हुनसक्छ । त्यसको क्षती उनले ब्यहोर्नु पर्छ जुन महंगो पर्नेछ ।

सहमतिको मसी सुक्न नपाउँदै केपी ओलीलाई, नेकपालाई वा प्रचण्डलाई कसरी कमजोर पार्न सकिन्छ भनेर धेरै शक्तिहरु लागेका छन् । केही साथीहरु त्यसमा बहकिन्छन् । हाम्रो पार्टीभित्रकै केही साथीहरु पनि केपी ओलीलाई प्रहार गर्न पाए हुन्थ्यो भनेर चाहिने नचाहिने कुरामा लागेका छन् । म दाबाका साथ भन्छु, उहाँ अदम्य क्षमता भएको, मुलकलाई विकासको गतिमा लैजान सपना देख्ने राजनेता हो । सबै खालको आन्दोलनलाई नेतृत्व गर्दै यहाँसम्म ल्याइपुर्याउने निर्णय क्षमता भएका नेता ओली र प्रचण्ड हुन् ।

नेतृत्वलाई प्रहार गर्दा म बलियो हुन्छु कि भनेर सोच्नेहरुले के बुझ्न जरुरी छ भने केपी ओली सिद्धिदै गर्दा तपाई पनि सिद्धिनुहुन्छ । प्रचण्डलाई खुइल्याउँदै गर्दा तपाई पनि खुईलिनुहुन्छ । ड्राइभरको टाउको ताकेर हान्दा दुर्घटना तपाई चढेकै गाडी हुन्छ । त्यसैले केपी ओली र प्रचण्डलाई निशाना बनाएर हान्छु भन्ने सपना नदेख्नुस् । म आग्रह गर्न चाहन्छु, मुलुक बनाउने केपी ओलीको सपनामा साथ दिनस् । मुलुक बन्यो भने तपाई बन्ने हो । हामीले त्यो खालको नेता भेट्टाएका छौँ । अहिले नेतृत्वलाई कमजोर बनाउनु भनेको कालान्तरमा देशलाई कमजोर बनाउनु हो । यो कुरा हामीले बुझ्नु जरुरी छ । प्रधानमन्त्रीको देश बनाउने कुरामा हामीले साथ दिनुपर्छ ।

यी भड्किएका आत्माहरुलाई मेरो आग्रह छ, मूलधारमा आएर मुलुक बनाउने अभियानमा लागौँ । भड्किनु वा बर्बराउन जरुरी छैन ।

अन्तिममा सीके राउतलाई मेरो आग्रह छ, कि तपाईका कार्यकर्ताहरु तपाईको कमाण्डमा छैनन् भनेर भन्नुस्, होइन भने तपाईले सहमति उल्लंघन गर्नुभएको छ । यस्तै भयो भने सरकार उचित कदम चाल्न बाध्य हुनेछ । त्यसले ठूलो समस्या तपाईलाई ल्याउँछ । यो कुरा बुझ्नुस् ।

यस्तै भयो भने भोलि तपाईलाई इन्काउन्टर होला । यो कुरा बुझ्नुस् । त्यसकारण यो मुलुक तपाईको पनि हो, मेरो पनि हो । मुलुक बन्दा तपाई पनि बन्ने हो । म पनि बन्ने हो । सबै जनता बन्ने हो ।

(युवा संघ अध्यक्ष रमेश पौडेलसंग गरिएको कुराकानीमा आधारित)

अडियो सुन्नुस् :