काठमाडौँ– ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका पाँच जनाको पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ ।


ADVERTISEMENT


बुधबार हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका पाईलट प्रभाकर केसी र दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरेको शुक्रबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा परी ज्यान गुमाएका मन्त्री अधिकारीको भने गृह जिल्ला पोखरामा अन्त्यष्टि गरिदैछ । त्यसैगरी अर्का पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शव परिवारलाई बुझाइएको छ । उनको आइतबार बौद्ध विधिअनुसार टेकु घाटमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।

यसअघि बिहान दिवङ्गत सातै जनाको शव काठमाडौँको टुँडिखेलमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुक, विभिन्न दलका नेता उच्च पदस्थ सरकारी अधिकारी सहभागी भएका थिए ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री रवीन्द्र अधिकारीसहितको सातजनाको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।