रामचन्द्र पाण्डे, काठमाडौँ– थाइल्याण्डमा जारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट प्रतियोगितामा महत्वपूर्ण मानिएको खेलमा नेपाल पराजित भएको छ । प्रतियोगिताको मुख्य दाबेदार मानिएको थाइल्याण्डसंग नेपाल फेरि पराजित भएको हो ।


ADVERTISEMENT


एशियाली राष्ट्रका सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपको लागि पहिलो खुड्किलाका रुपमा रहेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा नेपाल थाइल्याण्डसंग ५७ रनले पराजित भएको हो ।


ADVERTISEMENT

# # #


सात राष्ट्रसम्मिलित क्वालिफायरमा एकआपसमा खेलिसकेपछि अङ्कतालिकामा शीर्ष स्थानमा रहने टिम दुईवटा विश्वकपको ग्लोबल क्वालिफायरमा छानिने भएकाले आजको खेल जित्नैपर्ने दबाबमा थियो नेपाल । तर प्रतियोगिताकै दाबेदार मानिएको टोली थाइल्याण्डसंग पराजित भएसंगै नेपालको अघिल्लो चरणमा पुग्ने सम्भावना झन कठिन हुँदै गएको छ ।

थाइल्याण्डको बैँककस्थित एशियन इन्सटिच्युड अफ टेक्नोलोजी मैदानमा टस जितेर ब्याटिङ थालेको घरेलु टोली थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रन बनायो । १२५ रनको विजयी लक्ष्य पच्छाउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै ६७ रनमै समेटियो ।

सँधै सुरुवात राम्रो हुने नेपाली महिला टोलिको आज भने ८ रन नजोड्दै नेपालले तीन विकेट गुमायो । चौथो विकेटका लागि सीता राना मगर र इन्दु बर्माले ४६ रनको साझेदारी गरेपनि रनगती सुस्त भएकाले जित धेरै टाढा पुगिसकेको थियो । २७ बलमा ७१ रन चाहिएको अवस्थामा चौथो विकेटका रुपमा १६ औँ ओभरको चौथो बलमा सीता रानामगर आउट भइन् । त्यसपछि २ रन जोड्न नपाउँदै इन्दु बर्मा पनि पेवेलियन फर्किइन् । त्यसपछि २१ बलमका ११ रन जोड्दा नेपालले थप तीन विकेट गुमायो ।

इन्दुले सर्वाधिक २९ रन बनाइन् । उनले ४४ बलमा एक चौका मात्र प्रहार गर्न सकिन् । यस्तै सीता रानामगरले ३४ बलमा १८ रन बनाउँदा एक चौका हानिन् । अन्यले दोहोरो अंक छुन सकेनन् । यता थाइल्याण्डका लागि सर्नियन टिपोचले २ विकेट लिइन् । चार ओभरमा उनले १२ रन मात्र खर्चिइन् । यस्तै चानिदा सुतिरुङ, नताया बूचाथम र सुलेपोर्न लाओमीले समान १/१ विकेट लिए ।

यसअघि थाइल्याण्डका लागि चनिदा सुतिरुङले ३५ रन बनाइन् । नरुमोल चाइवाइले ३२ रन बनाउँदा वाङपका २८ रनमा अविजित रहिन् । नत्या बोचथमले १२ रन जोड्दा ५ खेलाडीले दोहोरो रन बनाउन सकेनन् । नेपालकी कबिता कुँवर र नेरी थापाले २/२ विकेट लिँदा करुणा भण्डारी र कप्तान रुविनाले १/१ विकेट लिएकी थिइन् ।

छनोटको तयारी स्वरुप थाइल्याण्डले गत महिना आयोजना गरेको वुमन ट्वान्टी–२० स्म्यासमा पनि नेपाल थाइल्याण्डसंग पराजित भएको थियो । पहिलो खेलमा मलेसियामाथि ३४ रनको जित निकालेको नेपालले अर्को खेलमा भोलि युएईको सामना गर्नेछ ।