काठमाडौं – प्रहरीले विवेकशील साझा पार्टीका कार्यकर्ताहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, नक्साल अगाडिबाट नियन्त्रणमा लिएको छ । प्रहरीले विरोध प्रदर्शन गरिरहेका २२ जना कार्यकर्तालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


अख्तियारले सानो भ्रष्टाचार गर्नेलाईमात्र समातेर ठूलालाई नदेखेको भन्दै सांकेतिक विरोधस्वरुप उनीहरुले ठूलो माछाको आकृति बनाएर अख्तियार कार्यालय अगाडी प्रर्दशन गरेका थिए । ‘ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका नारा लेखिएका प्लेकार्डसहित विवेकशीलका कार्यकर्ताले धर्ना दिएका थिए ।


ADVERTISEMENT

# # #


पार्टी संयोजक रवीन्द्र मिश्रका अनुसार, पक्राउ पर्नेमा पार्टीकी प्रदेश ३ संयोजक समीक्षा बास्कोटासहित केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठलगायत छन् । शान्तपूर्ण प्रदर्शन गर्नेलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रको उपहास गरेको भन्दै मिश्रले तत्काल नेता–कार्यकर्तालाई रिहा गर्न माग गरेका छन् ।

‘भ्रष्टाचार नियन्त्रणका लागि एउटा सशक्त निकाय हुनसक्ने अख्तियारको अगाडि अख्तियारलाई नै सुझाव र सल्लाह दिँदै शान्तपुर्ण प्रदर्शन गर्दा समेत पक्डिएर लाने भनेको कस्तो लोकतन्त्रको स्वरूप हो ?’ मिश्रले फेसबुकमा स्ट्याटस लेख्दै प्रश्न गरेका छन् ।

पक्राउ परेकालाई प्रहरीले महेन्द्र पुलिस क्लबमा राखेको छ ।