काठमाडौँ । सरकारले ल्याएको सहज नीतिका कारण पछिल्ला दिनमा नेपाल विद्युत् प्राधिकरण र निजी प्रवद्र्धकले धमाधम विद्युत् खरीद सम्झौता गर्दै आएका छन् । त्यसै क्रममा आज मात्रै प्राधिकरणले २५ मेगावाट क्षमताका दुई वटा आयोजनासँग विद्युत् खरीद सम्झौता गरेको छ ।


ADVERTISEMENT


प्राधिकरणका अनुसार ताप्लेजुङको काबेली खोलामा निर्माण हुने १२ मेगावाट क्षमताको सुपर काबेली र १३ दशमलब ५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ आयोजनाको प्रवद्र्धकसँग उक्त सम्झौता गरिएको हो ।


ADVERTISEMENT

# # #


सुपर काबेलीको प्रवद्र्धकमा हिल्टन हाइड्रो इनर्जी र सुपर काबेली ‘ए’को प्रवद्र्धकमा स्नो रिभर कम्पनी रहेका छन् । सम्झौतामा प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र दुवै आयोजनाको प्रवद्र्धकका तर्फबाट सञ्चालक मोहनविक्रम कार्कीले हस्ताक्षर गर्नुभयो । दुवै आयोजनाबाट उत्पादन हुने विद्युत् हिउँदको समयमा प्रतियुनिट आठ रुपैयाँ ८० पैसा र वर्षाको समयमा चार रुपैयाँ ८० पैसामा प्राधिकरणले खरीद गर्नेछ ।

सुपर काबेलीको लागत रु दुई अर्ब ५६ करोड र सुपर काबेली ‘ए’को लागत रु दुई अर्ब ७५ करोड रहेको छ । दुवै आयोजनाबाट उत्पादन हुने विद्युत् १३२ केभी क्षमताको काबेली प्रसारण लाइनमार्फत अमरपुर सबस्टेसनमा जोडिनेछ । रासस