काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।


ADVERTISEMENT


जिल्ला कृषि विकास कार्यालय, (तेह्रथुम)का प्राविधिक सहायक हरिगोपाल आचार्य, लेखापाल डिल्लीप्रसाद आचार्य र नायब सुब्बा दुर्गाप्रसाद पौडेलले १० लाख ८६ हजार ७ सय २५ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको ठहर छ।


ADVERTISEMENT

# # #


कार्यालयले अलैंचीको बिरुवा खरिद गरी कृषकलाई वितरण गर्ने क्रममा उनीहरूले कमिसन दिने व्यक्तिलाई मात्र दिएको अभियोगपत्रमा उल्लेख छ।

उनीहरूले इलामबाट बिरुवा ल्याउँदा र सम्बन्धित क्षेत्रमा पुर्‍याउँदा गाडी भाडासमेत घोटाला गरेको आयोगको दाबी छ।

आयोगले भाडाका सवारी साधन नियमविपरीत दर्ता गरेको र पुरानो सवारी साधन विस्थापित गर्दा प्रक्रिया मिचेको भन्दै यातायात व्यवस्था कार्यालय (पोखरा)का तत्कालीन शाखा अधिकृत बाबुराम लामिछाने र नायब सुब्बा ऋषिराम ढकालविरुद्ध मुद्दा दायर गरेको छ।

सवारी दर्ता ढड्डामा विभिन्न मितिमा बदनियतपूर्वक दर्ता गरिएका सवारी सरकारी कागजात सच्याई फेरि दर्ता गरेको देखिएको आयोगले जनाएको छ।

यसैगरी आयोगले भूमिसुधार तथा मालपोत कार्यालय (बाँके)का खरिदार सञ्जयकुमार ठाकुरविरुद्ध समेत मुद्दा दायर गरेको छ। ठाकुरमाथि जग्गा रजिस्ट्रेसन पास गर्दा लाग्ने राजस्व छुट गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार घूस लिएको आरोप छ।

आयोगले प्रगति माध्यमिक विद्यालय रूपन्देहीका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लेखनाथ शर्माविरुद्ध समेत शुक्रबार नै भ्रष्टाचार मुद्दा दायर गरेको छ।
शर्माको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको आयोगले जनाएको छ।