काठमाडौं । हिरो वुमेन्स गोल्डकपको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको छ । पहिलो हाफमा १–१ को बराबरी खेलेपनि दोस्रो हाफमा दुई गोलको शिकार भएपछि नेपालले उपाधि म्यानमारलाई सुम्पिएको हो ।


ADVERTISEMENT


भारत उडिसास्थित कंलिगा रंगशालामा ३५ औं मिनेटमा यी यी ओको गोलमार्फत म्यानमारले अग्रता लिएपनि लगत्तै ५ मिनेटपछि नेपालले बराबरी गोल फर्काएको थियो । मन्जली योन्जनकोे गोलमार्फत पहिलो हाफमा बराबरी खेलेको नेपाल दोस्रो हाफमा दुइको शिकार भयो ।


ADVERTISEMENT

# # #


म्यानमारका लागि ५३ औं मिनेटमा विन थिङगी र ६३ औं मिनेटमा यी यी ओले गोल गरेकी थिइन् । बाँकी समय नेपालले पुनरागमनको प्रयास गरेपनि जित निकाल्न सकेन । म्यानमार अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपालले आयोजक भारत र इरानमाथि जित निकाल्दै फाइनलमा यात्रा तय गरेको हो । गोल्डकपको पहिलो खेलमा पनि नेपाल म्यानमारसंग ३–० ले पराजित भएको थियो । दोस्रो खेलमा आयोजक भारतबिरुद्ध २–१ को एतिहासिक जित निकालेको नेपालले इरानलाई ३–० ले पराजित गरेको थियो ।

कात्तिकमा ओलम्पिक छनोटमा म्यानमार, भारत र बंगलादेशलाई १–१ को बराबरी रोक्दै दोस्रो चरणमा स्थान बनाएको नेपाल विगत २ महिनादेखी पाँचौं महिला साफ च्याम्पियनसिपको तयारीमा छ । भारतले पनि साफलाई केन्द्रितगरी ‘हिरो वुमेन्स गोल्डकप’को आयोजना गरेको हो । नेपाल पाँचौं महिला साफ च्याम्पियनसिपलाई केन्द्रित गरी गोल्डकपमा सहभागी भएको हो । साफ च्याम्पियनसिप फागुन २८ गतेबाट विराटनगरको सहिद रंगशालामा सुरु हुँदैछ । यस गोल्डकपबाट कमजोर पक्ष सुर्धार्दै नेपाल साफ च्याम्पियन बन्ने लक्ष्यमा छ ।