सरकारले रोजगार सिर्जनाको उद्देश्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ। बुधवार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको शुभारम्भ गरेका हुन्।


ADVERTISEMENT


प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगारीको अभावलाई व्यवस्थित ढङ्गले सम्बोधन गर्ने कदमको रुपमा आएको भन्दै यो प्रयास फलदायी हुने पनि उनले दाबी गरे । कुन व्यक्ति कुन ठाउँमा आवश्यक छ त्यस अनुसारको आपूर्ति गर्ने र रोजगारीका अभावलाई व्यवस्थित ढंगले समाधान गर्ने बाटोमा यो एउटा ऐतिहासिक कदम भएको प्रधानमन्त्रीले बताए ।


ADVERTISEMENT

# # #


उनले अब कोही नेपाली भोकै बस्नु नपर्ने र कोही नेपाली भोकले मर्नु नपर्ने बताए ।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम सित्तैमा भत्ता बाँड्ने कार्यक्रम नभएको बताएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् सार्वजनिक क्षेत्र वा सार्वजनिक निर्माणका काममा युवाहरुलाई श्रममा लगाउने र सरकारले तोकेको ज्याला पनि पाउने दाबी गरे । उनले भने ‘यो कार्यक्रमपछि युवाहरुलाई स्वदेशमै गरिखाने पर्याप्त अवसर सिर्जना हुनेछ ।’ यस कार्यक्रमले परिश्रम र पौरख गर्ने सम्मानित हुने दिनको सुरुवात हुने पनि उनले दाबी गरे ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले युवा जनशक्तिलाई श्रम बजारमा ल्याउन नसके राज्यले सामाजिक सुरक्षा जस्ता कार्यक्रम धान्न नसक्ने बताएका छन् ।

कूल जनसंख्याको ठूलो हिस्सा युवा जनशक्ति रहेकाले उनीहरुलाई श्रम बजारमा आकर्षित गर्न जरुरी रहेको उनको भनाइ छ । विस्तारै मुलुक पूर्ण सामाजिक सुरक्षा कार्यक्रमतर्फ गइरहेको भन्दै उनले भने, ‘बालबालिका, वृद्धवृद्धाको लागि कार्यक्रम सञ्चालन भइरहेकै छ अब युवालाई रोजगारीको प्रत्याभूति गर्न यो कार्यक्रम आएको छ ।’

कार्यक्रमअन्तर्गत सरकारले बेरोजगार नागरिकलाई न्यूनतम सय दिन रोजगारी दिनेछ। रोजगारी दिन नसके निर्वाह भत्ता दिइनेछ .