काठमाडौँ– प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा जनयुद्ध दिवस मनाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा तत्कालीन माओवादीले सशस्त्र संघर्ष थालेको २३ वर्ष पूरा गरी २४ वर्ष लागेको अवसरमा नेकपाले औपचारिक कार्यक्रम गरी यो दिवस मनाएको हो ।


ADVERTISEMENT


कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका र जनआन्दोलनका सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले नेकपाले जनयुद्ध दिवस मनाइरहँदा हिजो अलग-अलग रहेको नेता र जनतालाई सैद्धान्तिक, वैचारिक र भावनात्मक रुपमा एक बनाउने ऐतिहासिक सन्देश प्रवाह भएको बताए ।


ADVERTISEMENT

# # #


जसमा नेकपाका एक अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, भीम रावल र सुवास नेम्वाङ लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । तर, कार्यक्रममा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन् । उनी कार्य व्यस्तताका कारण आउन नसकेको प्रचण्डले जानकारी दिए । त्यस्तै माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम पनि कार्यक्रममा अनुपस्थित थिए ।

२०५२ फागुन १ गतेका दिनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई र मोहन बैद्य लगायतका नेताहरु भूमिगत भएका थिए । त्यसपछि सुरु भएको जनयुद्ध १० बर्ष चलेको थियो । जनयुद्ध सुरु गर्ने तीन प्रमुख नेताहरु अहिले भने तीनतिर बाँडिएका छन् ।

प्रचण्ड नेकपामा छन् भने बाबुराम मार्क्सवाद नै छाडेर नयाँ शक्तिमा छन् भने मोहन बैद्य छुट्टै पार्टीमा छन् । यो जनयुद्ध दिवसले आफूहरु भित्र नयाँ एकताको आधार बनाएको दावी पनि प्रचण्डले गरे ।

‘जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति श्रद्धान्जली’ नामक उक्त कार्यक्रममा सहभागिहरुले जनयुद्ध र त्यस क्रममा सहादत प्राप्त गर्नेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । यसअघि अध्यक्ष प्रचण्ड आजै पेरिसडाँडा पुगेर सहिदहरुलाई स्मरण गरेका थिए ।