काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको काम सम्पन्न गर्न इटालीको कम्पनी ‘सिएमसी दी राभेना’लाई नै फर्काउन खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले पहल शुरु गरेकी छन् । मेलम्ची खानेपानी विकास समितिले गत महीना ठेक्का सम्झौता तोडे पनि मन्त्री मगरले पुरानै कम्पनीमार्फत काम सक्न पहल गरेकी हुन् ।


ADVERTISEMENT


नयाँ ठेक्का सम्झौतामार्फत काम गर्दा समय र लागत दुवै बढ्ने भन्दै उनले ठेकेदार कम्पनीलाई नै फर्काउन वार्ता टोली सिङ्गापुर पठाएकी थिइन् । मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापा, मन्त्रालयका कानून शाखामा कार्यरत उपसचिव गुणराज श्रेष्ठलगायतको टोली वार्ताका लागि गत साता सिङ्गापुर पुगेको थियो । कम्पनीलाई काममा फर्कनका लागि आवश्यक वातावरण मिलाउने बारेमा छलफल भएको उपसचिव श्रेष्ठले बताए ।


ADVERTISEMENT

# # #


उनले भने, “काठमाडौँ फर्किएर काम गर्न सुरक्षित वातावरण छैन कि भन्ने उहाँहरुको चिन्ता रहेकामा हामीले काम गर्ने वातावरण सुरक्षित छ भन्ने आश्वस्त पारेका छौँ ।” सिङ्गापुरमा भएको वार्ता सकारात्मक रहेको उपसचिव श्रेष्ठले बताए ।

सिएमसीको लागत बढेकाले केही कुरामा नेपाल सरकार लचिलो भइदिओस् भन्ने कम्पनीको चासो रहेको उनले बताए । “थोरै मात्रै काम बाँकी रहेकाले त्यसलाई जतिसक्दो चाँडो सक्न मन्त्रीज्यूको चासो देखाउनुभएको छ”, उनले भने, “हामीले त्यहाँ भएका वार्ताका विषयमा मन्त्री र सचिव दुवैलाई प्रतिवेदन दिएका छौँ ।”

ठेकेदार कम्पनीले गत २९ मङ्सिरमा आयोजनाको सम्पूर्ण काम छाडेको थियो । पुस २ गते मेलम्ची खानेपानी विकास समितिले कम्पनीको कार्यसम्पादन जमानत, अग्रिम पेश्की जमानतलगायत गरेर झण्डै रु दुई अर्ब २१ करोड समितिका नाममा जफतका लागि पत्राचार गरेको थियो ।

पुस ५ गते कम्पनीले धरौटी रकम जफत नगरियोस् भन्दै निषेधाज्ञा माग गर्दै उच्च अदालत पाटनमा रिट हाले पनि अदालतले खारेज गरेको थियो । पुस १३ गते कम्पनीले ठेक्का तोडेको पत्रलाई पुनःस्थापित गरेर काममा नफर्कने जानकारी गराएको थियो । मन्त्री मगरले भने त्यतिबेलादेखि नै कम्पनीलाई काममा फर्काउन प्रयास गरिरहेको श्रेष्ठले बताए ।

मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद सुवेदी मेलम्चीको काम कसरी अघि बढाउने भन्ने समितिले नै निर्णय गर्ने बताए। मन्त्रालयका सचिव अध्यक्ष रहने समितिको निर्णयपछि मात्रै पुरानो कम्पनीलाई जिम्मेवारी दिने वा नयाँ ठेकेदारमार्फत काम गर्ने भन्ने निर्णय हुने उनले बताए । उनले भने, “समिति आफैँ स्वायत्त संस्था भएकाले हामीले यसो गर भन्न मिल्दैन ।” राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजना निर्माणको काम ९० प्रतिशतभन्दा बढी सकिएको समितिले बताएको छ । रासस