काठमाडौं – उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नवलपरासी जिल्लाको हात्तीखोरस्थित राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा सञ्चालन भएको चौथो चरणको सिनियर डिभिजन एनसिसि तालिमको दीक्षान्त कवाज निरीक्षण गरेका छन् ।


ADVERTISEMENT


कार्यक्रममा उक्त शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी अर्जुन खड्काले तालिम सम्बन्धी ब्रिफिङ गरेपछि उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले बिभिन्न कवाजको अवलोकन गरेका थिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा उनले क्याडेटहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्नुका साथै शिल्ड तथा पुरस्कार, प्रशंसापत्र प्रदान गरेका थिए । कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

कवाज निरीक्षण गर्नको लागि उपप्रधान तथा रक्षा मन्त्री पोखरेल सोमबार नवलपरासी पुगेका थिए । उनी मंगलबार काठमाडौं फर्केका छन् ।

नेपाली सेनाले विभिन्न निजी तथा सरकारी विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरु सहभागी गराई २०२२ सालबाट तालिम दिदै आएको छ । विद्यार्थीहरुलाई अनुशासित, मर्यादित, संस्कारयुक्त बनाउनको लागि यस्तो तालिम दिने गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तो तालिमले राज्यका संस्थाहरु प्रति सम्मान, मुलुक प्रति समर्पित, राष्ट्रियताको लागि नेतृत्व तथा व्यत्तित्व विकास, सामान्य सैनिक कला, विपद् व्यवस्थापन र विपत्तिको समयमा स्वयमसेवक रुपमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्षम बनाउने विश्वास सेनाले लिएको छ ।