काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले भेनेजुएला प्रकरणबारे पार्टीले यसअघि राखेको धारणा नै आधिकारी भएको स्पष्ट पारेको छ ।


ADVERTISEMENT


बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको नीति अनुरुपनै धारणा सार्वजनिक भएको हुँदा त्यसको कुनै खण्डन नभएको बताए ।


ADVERTISEMENT

# # #


‘भेनेजुएला बारेमा पार्टीको स्टेटमेन्ट जारी भैसकेको छ । हाम्रो पार्टीको नीति स्पष्ट छ । त्यसबारे भ्रम र गलत प्रचार नर्गन आजको बैठकले आग्रह गरेको छ’, प्रवक्ता श्रेष्ठले भने,‘ त्यहाँको आन्तरिक मामलामा कसैले हस्तक्षेप नगरोस् । त्यहीँका जनताले नै फैसला गरोस् भन्नेनै पार्टीको आधिकारी धारणा हो ।’

त्यस्तै बैठकले सांगठनिक एकीकरणका काम सचिवालयले नै टुंगाउने निर्णय समेत गरेको छ ।

बैठकले स्थायी कमिटी बैठकबाट यसअघि बनेको ९ सदस्यीय कार्यदललाई अहिलेसम्म भएका प्रगतिबारेको प्रतिवेदन मंगलबार सचिवालयलाई बुझाउन निर्देशन दिएको छ ।

प्रवक्ता श्रेष्ठले भने, ‘कार्यदल कुन अवस्थामा पुगेको छ, अहिलेसम्म जति प्रगति भएको छ, त्यो मंगलबारसम्म सचिवालयमा पेश गर्न भनेका छौँ । त्यसपछि सचिवालयले के गर्ने भनेर छलफल गरी निर्णय गर्छ । र, स्थायी समितीमा पेश गर्छ ।’

त्यस्तै आजको बैठकले स्थायी समिति बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई परिमार्जन गर्दै अन्तिमरुप दिने र पार्टीको राजनीतिक दस्तावेजलाई पनि छिट्टै प्रकाशित गर्ने निर्णय गरेको छ ।