कास्की । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले खेतीयोग्य भूमिमा सिँचाइ सुविधाको राम्रो प्रबन्ध हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलसाधन योजना तयारी सुविधा आयोजनाले आइतबार यहाँ आयोजना गरेको सिँचाइ गुरुयोजना (मस्यौदा)सम्बन्धी प्रादेशिक परामर्श गोष्ठीमा मन्त्री गुरुङले कालीगण्डकी नदीलाई डाइभर्सन गरी प्रदेश नम्बर ५ को तिनाउ नदीमा लैजाने परियोजनाको प्रदेश सरकारको सहमति बिना अगाडि बढाउन नहुने भनाइ राखे । भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले गुरुयोजनालाई अन्तिम रुप दिनु एक महीना अघि विस्तृत प्रतिवेदन प्रदेश सरकारलाई उपलब्ध गराउन आग्रह गरे ।


ADVERTISEMENT

# # #


गण्डकी प्रदेशसभा सदस्य हरिशरण आचार्यले नदी गहिराइमा रहने र खेतीयोग्य जमीन तथा टार उचाइमा रहने अवस्था भएकाले लिफ्टिङ प्रणाली उपयोगी बताए। प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले छिटो सम्पन्न भएर जनताले फाइदा लिन सक्ने योजनामा जोड दिनुपर्ने बताए। जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर अधिकारीले केन्द्रबाट बनेर आएका कतिपय योजना कार्यान्वयनमा जटिलता देखिएकाले तल परियोजनास्थलमै बसेर योजना निर्माण गर्न माग गरे।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेल, पुतली बजार नगरपालिका प्रमुख सीमा क्षेत्री, व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेलगायत स्थानीय पालिकाका प्रमुखले ठूला र रणनीतिक महत्वका योजना सङ्घ, मझौला प्रदेश र साना आयोजना स्थानीय तहले कार्यान्वयन गर्ने गरी योजनाको स्पष्ट वर्गीकरण हुनुपर्ने बताए । रासस