काठमाडौँ– नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहास कायम गरेको छ ।  आईतबार भएको टी-२० खेलमा नेपालले युएईमाथि १४ रनको सनसनीपूर्ण जित निकाल्दै पहिलो पटक टी-२० श्रृंखला जितेको हो । वर्षाले प्रभावित बनाएपछि १० ओभरमा घटाइएको अन्तिम तथा निर्णायक खेलमा जित निकाल्दै नेपालले ३ खेलको श्रृंखला  २-१ ले टुंगाएको हो ।


ADVERTISEMENT


दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनायो । १०५ रनको चुनौति पछ्याउँदै मैदान उत्रिएको युएई १० ओभरमा ८ विकेट गुमाउँदै ९० रनमै समेटियो ।


ADVERTISEMENT

# # #


युएईका लागि सैमन अनवरले सर्वाधिक ३० रन बनाए । २० बलमा उनले २ चौका र २ छक्का हाने । यस्तै गुलम सब्बीर १५ बलमा २५ रन बनाएर आउट भए । यसक्रममा उनले ३ चौका र एक छक्का प्रहार गरे । यस्तै मोहम्मद बूटाले ११ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।

यता नेपालका लागि करण केसी, अभिनास बोहरा र ललितनारायण राजवंशीले समान २र२ विकेट लिए । यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले समान १/१ विकेट लिए ।

इनिङको आठौँ ओभरमा करण केसीले उत्कृष्ट बलिङ गरे । युएईलाई जितका लागि अन्तिम १८ बलमा ३३ रन चाहिएको अवस्थामा करण केसीले शानदार बलिङ गरे । म्यान अफ दि म्याच चुनिएका उनले उक्त ओभरमा ४ रन मात्रै खर्चिएर  महत्वपूर्ण दुई विकेट चट्काए ।

उनले ओभरको पहिलो बलमा १९ बलमा ३० रन बनाएर खेलिरहेका सैमन अनवरलाई ज्ञानेन्द्र मल्लको हातबाट शानदार क्याच गराए । दोस्रो बलमा १ रन दिएका करणले तेस्रो बलमा आक्रमक मानिने युएईका कप्तान मोहम्मद नाभिदलाई शून्य रनमा पेवेलियनको बाटो देखाए । अन्य ३ बलमा ३ रन खर्चिँदा करणले नेपाललाई जितको बाटोतर्फ डोर्याएका थिए ।

सिरिजको ट्रफी र पुरस्कार ग्रहण गर्दै कप्तान पारस खड्का । तस्बिर : रमन शिवाकोटी ।

यसअघि नेपालका लागि पारस खड्काले सर्वाधिक २९ रन जोडे। १४ बलमा उनले ४ चौका र एक छक्का प्रहार गरे । यस्तै पाचौँ नम्बरमा आएका सन्दीप जोराले २९ रनको योगदान दिए । आक्रामक देखिएका सन्दीपले ११ बलमा ३ छक्का ठोके ।

यस्तै विनोद भण्डारीले १३ बलमा २१ रन बनाए । उनले ३ चौका र एक छक्का हाने । यस्तै ज्ञानेन्द्र मल्ल ९ बलमा ११ (२ चौका) र करण केसी ५ बलमा १० रन (एक छक्का) हान्दा दीपेन्द्र सिंह ऐरी २ तथा पवन सर्राफ शून्य रनमा आउट भए ।

यता युएईका लागि मोहमम्मद नाभिद र सुल्तान अहमेदले समान २/२ विकेट लिए । निकै किफायती बलिङ गरेका नाभिदले २ ओभरमा ६ रन मात्रै खर्चिए । यस्तै मोहम्मद बूटा, अमिर हायात र जाहूर खानका नाममा १/१ विकेट रह्यो ।

अभिनास बोहरा म्यान अफ दि सिरिज चुनिए । उनले तीन खेलमा ६ विकेट लिए ।

टी-२० सिरिजमा पनि युएइले एकदिवसीय सिरिजकै नियती भोग्नु पर्यो । दुईवटै श्रृंखलाका पहिलो खेल जिते जिते पनि बाँकी दुई खेल आफ्नो पक्षमा पार्न सफल भएन ।

नेपालले यसअघि भएको ३ खेलको एक दिवसीय श्रृंखला पनि २-१ ले नै जितेको थियो । युएई भ्रमण नेपालका लागि ऐतिहासिक भ्रमण रह्यो । जहाँ नेपालले रेकर्ड नै रेकर्ड बनायो ।

यस भ्रमणमा नेपालले दुईवटा विश्व कीर्तिमान नै कायम गर्यो । १६ वर्ष १४६ दिनका रोहित कुमार पौडेलले विश्व क्रिकेटका माहान हस्ती भारतीय पूर्व कप्तान सचिन तेन्दुल्कर र पाकिस्तानी पूर्व विश्वविजेता कप्तान शाहीद अफ्रिदीको रेकर्ड तोडे । उनी एक दिवसीय खेलमा अर्धशतक हान्ने विश्वकै कान्छा खेलाडी बने ।

यस्तै अर्को नेपाली ब्याट्सम्यान सन्दीप जोराले पनि कीर्तिमान नै राखे । उनी टी-२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक हान्ने विश्वकै कान्छा खेलाडी बने । जोराले १७ वर्ष १०३ दिनको उमेरमा डेब्यू खेलमै अविजित ५३ रन प्रहार गरेको थिए । यसै भ्रमणमा नेपाली खेलाडीको ब्याटबाट शतक देख्न पाइयो । इतिहास कायम गरेका कप्तान पारस खड्काले पहिलो एक दिवसीय शतक हाने । यस्तै सोमपाल कामीकोले पनि पहिलो एकदिवसीय पाँच विकेट लिने इतिहास आफ्नो नाममा लेखाए ।