काठमाडौँ– युनाइटेड अरब इमिरेट्स संगको टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको छ । १५४ रनको चुनौति पच्छ्याएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३२ रनमै समेटिएको हो । नेपालका लागि सन्दीप जोराले डेब्यू खेलमै अर्धशतक हानेपनि टिमलाई जिताउन सकेनन् ।


ADVERTISEMENT


यसअघि दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनायो । १५४ रनको लक्ष्य पच्छ्याएको नेपाल १३२ रनमै समेटियो ।


ADVERTISEMENT

# # #


नेपालका लागि सन्दी जोराले सर्वाधिक ५३ रन बनाएर नटआउट रहे । ३ चौका र एक छक्का प्रहार गरे । यस्तै आठौँ नम्बरमा आएका सोमपाल कामीले १९ बलमा २७ रन हाने । सोमपालले एक चौका र एक छक्का ठोके । यस्तै पारस खड्काले २५ बलमा २५ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।

ओपनर प्रदीप ऐरी शून्य रन बनाएर आउट हुँदा ज्ञानेन्द्र मल्ल ७, दीपेन्द्र ऐरी, करण केसी र रोहित पौडेलले समान ४/४ रन बनाए । युएईका मोहम्मद नाभिद्, शुल्तान अहमेद र जाहूर खानले समान २/२ विकेट लिए भने अमिहर हायातले १ विकेट हात पारे ।

यसअघि युएईका लागि सैमन अनवारले आक्रामक पारी खेले । पाँचौँ विकेटका रुपमा अभिनाश बोहराको बलमा बोल्ड हुनुअघि उनले ३८ बलमा ५९ रनको महत्वपूर्ण पारी खेले । उनले ३६ बलमा अर्धशतक पूरा गरे । उनले ५ चौका र २ छक्का ठोके ।

यस्तै मोहम्मद उस्मान ३० र सीपी रिजवान २२ रन बनाएर आउट हुँदा मोहम्मद बूटा १५ बलमा एक चौका र एक छक्काको मदतमा २० रन बनाएर अविजित भए ।

यता नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मलिे समान २/२ विकेट लिए भने सोमपालकामी र आजै डेब्यू गरेका अभिनाश बोहराले समान १/१ विकेट हात पारे । सन्दीपले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भए ।

सन्दीपको बलमा युएईका अष्फाक अहमद दुई रनमा आउट भए । २ विकेट लिँदा ४ ओभरमा सन्दीपले २५ रन खर्चिए । करण केसी महंगो साबित भए । चार ओभरमा ४३ रन खर्चिँदा उनले कुनै पनि विकेट लिन सकेनन् भने वसन्त रेग्मीले ४ ओभरमा २३ रन खर्चिए ।

नेपालले अर्को खेल शुक्रबार नेपाली समय अनुसार पौने ३ बजे खेल्नेछ ।  यसअघि ३ खेलको एक दिवसीय सिरिज २-१ ले जितेको नेपाल इतिहासमै पहिलो पटक टी-२० श्रृंखला जित्ने दाउमा रहेको छ ।