इटहरी– सुनसरी जिल्लाको पछिल्लो मतगणनाको नतिजाअनुसार दुई नगरपालिका र दुई गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ ।


ADVERTISEMENT


सोअनुसार इनरुवा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले प्रमुख र उपप्रमुखका बाजी मारेका छन् । रामधुनी नगरपालिका प्रमुखमा पनि काँग्रेसका उम्मेदवार तथा उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले जितेका छन् । दुवै नगरपालिकाको मतगणनाको नतिजा भने सार्वजनिक हुन समय लाग्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी दक्षिणी क्षेत्रमा रहेको देवानगन्ज गाउँपालिकामा काँग्रेसका गफ्फार अन्सारी पाँच हजार ६५२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका हेमनारायण मेहताले तीन हजार ६३५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा पनि काँग्रेसकै रिमझिमकुमारी भगत पाँच हजार ९६ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरमकी सुनितादेवी मेहताले दुई हजार ९७६ मत प्राप्त गरिन् ।

त्यस्तै गढी गाउँपालिकामा पनि काँग्रेसकै श्रीप्रसाद यादव पाँच हजार ५२ मत प्राप्त गरी अध्यक्षमा तथा उपप्रमुखमा राजकुमारी चौधरी चार हजार ८१९ मत प्राप्त गरी विजयी भएकी छन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका वीरनारायण चौधरीले चार हजार ६४ र लालो थरुनीले तीन हजार ६५५ मत प्राप्त गरिन् ।

इटहरी उपमहानगरपालिकाको मतगणनाको पछिल्लो नतिजानुसार एमालेका प्रमुखका उम्मेदवार द्वारिकालाल चौधरीले ११ हजार २७४ र उपप्रमुखका उम्मेदवार लक्ष्मी गौतमले १० हजार ८०९ मत प्राप्त गरी अग्रता कायम गरिरहेका छन् । काँग्रेसका प्रमुख पदका उम्मेदवार रोहित प्रसार्इंले १० हजार ५७८ र उपप्रमुखका उम्मेदवार विमला ढकालले नौ हजार ९७६ मत प्राप्त गरी पच्छ्याइरहेका छन् । अहिले उपमहानगरपालिकाका वडा नं २, ४, ५, ६, १६ र १७ को मतगणना जारी छ ।

यता धरानमा भने वडा नं ९ को मतगणना भइरहँदा राति झरेको मतभन्दा केही मतपत्र बढी भएको भन्दै नेकपा माओवादी केन्द्रका प्रतिनिधिले विरोध जनाउँदै मतगणना रोकेपछि धरानमा रातिदेखि नै मतगणना स्थगन भएको छ ।