काठमाडौँ– नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)को क्रिकेट टोलीबीच हुने तीन अन्तर्राष्ट्रिय एक दिवसीय र तीन टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेल नेपालले  शुक्रबार खेल्दैछ । खेल नेपाली समय अनुसार ११:१५ बजे सुरु हुनेछ ।


ADVERTISEMENT


युएईको दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एकेडेमी मैदान मा हुने खेलमा नेपालले आफ्नो पहिलो एवं उद्घाटन खेलमा युएईसँग जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । नेपालले एउटै देशसँग एक दिवसीय र टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो ।


ADVERTISEMENT

# # #


गत मार्चमा जिम्बावेमा भएको एक दिवसीय विश्वकप छनोटमा एशोसिएटतर्फ उत्कृष्ट तीनमा पर्दै नेपालले पहिलोपटक चार वर्षका लागि एक दिवसीय मान्यता पाएको थियो । उक्त मान्यता पाएपछि नेपालले यो दोस्रो पटक एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

यसअछि नेपालले गत अगष्टमा नेदरल्याण्डसँग उसैको मैदानमा पहिलो एक दिवसीय सिरिज खेलेको थियो, जुन सिरिज एक/एकको बराबरीमा सकिएको थियो । नेपाली टोली कप्तान पारस खड्काले एक दिवसीय सिरिज खेल्न नेपाली टोली उत्साहित रहेको भन्दै जित निकाल्न प्रयास गर्ने बताएका छन् ।

“नेपालले अब ४ वर्षसम्म यस्तै शृंखलाहरु नै खेल्ने हो । हरेक खेल हाम्रो लागि महत्वपूर्ण हुन्छन् । आगामी २ वर्षभित्र हामीले टेष्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्ने वातावरण बनाउनुपर्छ,” यूएई जानुअघि कप्तान पारसले भने, “त्यसका लागि राम्रो क्रिकेट खेल्नुपर्छ । राम्रो क्रिकेट खेल्न सक्यौं भनेमात्र त्यो वातावरण सिर्जना हुने हो ।”

बुधबार अभ्यासका क्रममा सन्दीप लामिछाने ।

कप्तान बिनाको युएई कत्तिको बलियो ?

नेपाल विरुद्धको सिरिजमा यूएईका नियमित कप्तान रोहन मुस्तफा हुने छैनन् । पछिल्लो समय नेपालले खेलेका उनीसहित युएईका तीन महत्वपूर्ण खेलाडी टोलीमा छैनन् ।

पाकिस्तानमा सम्पन्न इमर्जिङ टिम्स एसिया कपमा व्यवस्थापन राम्रो नभएको प्रतिकृयाका कारण युएई क्रिकेट बोर्डले कप्तान मुस्तफासहित दुई सिनियर खेलाडी अहमद राजा र रामीज शाहजदलाई ८ हप्ताका लागि निलम्बन गरेको छ ।

यस्तै अर्का अनुभवी र ‘हार्डहिटर’ ब्याट्समेन अद्नान मुफतीले पनि अन्तर्राष्ट्रिय क्रिकेट बाट सन्यास लिइसकेका छन् । यसले गर्दा पनि युएई तुलनात्मक रुपमा केही कमजोर देखिएको छ । तर, कप्तान पारस खड्का भने युएईलाई कमजोर आँक्न नहुने बताउँछन् ।

‘युएईमा क्रिकेट डेब्यु गर्नेहरु पाकिस्तान, भारत, श्रीलंका कतै न कतै क्रिकेटमा नै लागिरहेका हुन्छन् । त्यसैले उनीहरुसँग अनुभव धेरै हुन्छ ।’ पारसले भने, ‘प्राय त हामीसँग पनि खेलेकै खेलाडी छन् । त्यस कारण को बलियो भन्दा पनि मैदानमा राम्रो प्रदर्शन गर्ने टिमले नै जित्ने हो’

युएईका तिब्र गतिका बलर मोहम्मद नाभीदले पहिलो पटक युएईको कप्तानी सम्हाल्नेछन् ।

युवाले भरिपूर्ण टिम, कस्तो रहला प्रदर्शन् ?

दोस्रो एक दिवसीय सिरिजका लागि युएई प्रथान गरेको नेपाली टोली युवाले भरिपूर्ण छ । १६ सदस्यीय टोलीमा १० जना युवा खेलाडीहरु रहेका छन् । जसमध्ये ४ जनाले उमेर समूह र घरेलु प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा अविनास बोहरा, सन्दीप जोरा, भिम सार्की र पवन सर्राफले राष्ट्रिय पहिलो पटक टिममा स्थान बनाएका छन् ।

नेपाली क्रिटेटको पुस्तान्तरण भयो भनिरहँदा पहिलेदेखि नै ब्याटिङ प्रमुख समस्याका रुपमा रहिआएको छ । युवा पुस्ताले त्यो समस्यालाई किनारा लगाउन सक्लान् ? यो सबैको चासोको विषय बनेको छ । सिरिजका लागि युएई प्रस्थान गर्नुअघि प्रमुख प्रशिक्षक जगत टमाटाले भनेका थिए, ‘युवा खेलाडीले गर्दा टिममा सिनियर खेलाडीलाई पनि उत्कृष्ट प्रदर्शन गर्ने चुनौति बढेको छ । यसले गर्दा टिममा प्रतिस्पर्धा छ ।’

भीम सार्की ।

यस्ते अन्य युवामा मध्यक्रमका खम्बा दीपेन्द्र सिंह ऐरी, रोहि पौडेर र आरिफ सेखले पनि टिमलाई नयाँ उर्जा दिएका छन् । यस्तै बलिङतिर स्टार स्पिनर सन्दस्प लामिछाने छन् । जसले विश्वभरका फ्रन्चाइज प्रतियोगितामा खेलेर सनसनी मच्चाइरहेका छन् ।

नेपालका अनुभवी ब्याट्समेन शरद भेषवाकर अस्वस्थ भएपछि टिममा छैनन् । उनले खेल्दै आएको मिडिल अर्डरको अभाव महशुस होला या नहोला ? उनको स्थानमा आउने युवा खेलाडीले कस्तो प्रदर्शन गर्लान् ? यो हेर्नलायक हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले १० हजार दिराम (रु तीन लाख १४ हजार) पाउने छ ।

नेपाली टोली

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल(उपकप्तान), अविनास बोहोरा, बसन्त रेग्मी, भिम सार्की, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोरा ।

यूएई टोली

मोहम्मद नाभीद(कप्तान), मोहम्मद उस्मान (उपकप्तान), अशफाक अहमद, चिराग सुरी, शाइमन अनवार, मोहम्मद बूता, गुलाम शब्बर, इमरान हैदर, ताहिर मुघल, अमिर हायत, जहूर खान, कादीर अहमद, फहद नावाज, अब्दुल शाकुर, सल्तान अहमद, सिपी रिजवान

यस्तो छ खेल तालिका

माघ ११ गते, पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय

माघ १२ गते, दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय

माघ १४ गते, तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय

माघ १७ गते, पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय

माघ १८ गते, दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय

माघ २० गते, तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय

तस्बिरहरु : रमन सिवाकोटी