बाजुरा– जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको सम्पूर्ण स्वामित्व नेपाल विद्युत् प्राधिकरणमातहत हुनुपर्ने मागसहित उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा हस्ताक्षरसहित ध्यानाकर्षण पत्र बुझाएका छन् ।


ADVERTISEMENT


गुणस्तरीय सेवा नदिएको र चर्को महसुल मात्र लिने गरेको विरोधमा उपभोक्ताले सङ्कलन गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् ।
त्रिवेणीले उपभोक्ता थप्ने, आर्थिक आम्दानी गर्नेबाहेक कुनै प्रकारको सेवामा ध्यान नदिएको आरोपसहित हस्ताक्षर सङ्कलन गरिएको छ । मार्तडी आसपास क्षेत्रका ७१२ जनाको संयुक्त हस्ताक्षर प्रमुख जिल्ला अधिकारी चेतराज बराललाई बुझाएको दलित अधिकारकर्मी गोरख सार्कीले बताए ।


ADVERTISEMENT

# # #


बीस वर्षका लागि जलविद्युत केन्द्रको जिम्मा लिएको त्रिवेणी बचत तथा ऋण सहकारीसँग विद्युत्को दिगोपना र स्थायित्वका लागि कुनै प्रकारको योजना नरहेकाले तत्काल प्राधिकरणलाई नै जिम्मा लिन मागसहित स्थानीयवासीले हस्ताक्षर बुझाएको सार्कीले बताए।

स्थानीय उपभोक्ताले गएको तीन वर्षदेखि नै हस्ताक्षर अभियान थालेका हुन् । सहकारीले जिम्मा लिएर महसुल लिने तर सेवा नदिने काम गरेकाले प्राधिकरणले नै लिनु पर्ने दाबी उनीहरूको छ । विद्युत् अवरुद्ध भएको महीना दिन बिते पनि नयाँ मेशिन खरीद गर्नुभन्दा पुरानै मर्मतमा ध्यान दिएको आरोप उनीहरूको छ । केही व्यक्तिको कमाइ खाने माध्यम बनेको, सेवा नियमित नदिएको र बत्ती नबलेको समयमा पनि महसुल लिने गरेको जस्ता आरोप हस्ताक्षर गर्नेको छ ।

बीस वर्ष आयु भएको मेशिन ३० वर्ष पुगिसक्दा पनि नयाँ खरीदको कुनै प्रक्रिया थालनी नगर्नु नै उपभोक्तामाथि ठगीबाहेक अरु नभएको आरोप उनीहरुको छ । ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी चेतराज बरालले प्राविधिक विषयबारे जानकारी लिने र जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसँग छलफल गर्ने बताए । सदरमुकामको विद्युत् नियमित र गुणस्तरीय हुनुपर्नेमा आफू पनि सचेत रहेको अधिकारी बरालको प्रतिक्रिया थियो ।

बाजुराको कोल्टी क्षेत्र सञ्चारविहीन

जिल्लाको उत्तरपूर्वी कोल्टी क्षेत्रको टेलिफोन सेवा अवरुद्ध भएको छ । लगातारको हिमपातले कालाजग्रामा रहेको रेडियो रिपिटर टावरमा सौर्य विद्युत् आपूर्ति कमी भएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराले जनाएको छ । विगत तीन महीनादेखि त्यस क्षेत्रमा टेलिकमका सबै सेवा आंशिकरूपमा मात्रै सञ्चालन भएको शिक्षक धीरबहादुर दानीले गुनासो गरे ।

“टेलिकमले दिँदै आएको सम्पूर्ण सेवा घाम लागेपछि मात्र सञ्चालन हुने गरेका थिए, हिजोआज पानी परेकाले टेलिकमका कुनै पनि सेवा सञ्चालन भएका छैनन्”, शिक्षक दानीले भने । दिउँसो घाम लागे मात्र आफन्तसँग फोनमा कुराकानी गर्न पाइने र बिहान र बेलुका इन्टरनेट चलाउन पनि समस्या भइरहेको सो क्षेत्रका उपभोक्ताको गुनासो छ । कोल्टी क्षेत्रमा एक नगरपालिका र तीन गाउँपालिका छन् ।

कोल्टी क्षेत्रलाई लक्षित गरी बडीमालिका नगरपाकिा–७ स्थित कालाजग्रा, बूढीनन्दा नगरपालिका–२ कोल्टी–१ बाँधुमा निर्माण गरिएको टेलिकमका सव–स्टेशन टावरले काम नगरेको उपभोक्ताको गुनासो छ । टेलिफोन र इन्टरनेटले राम्रोसँग काम नगर्दा उत्तरपूर्वी क्षेत्रका चारवटा स्थानीय तह, बैंकलगायतका सरकारी तथा गैरसरकारी कार्यालयको कामकाजसमेत प्रभावित भएको छ । टेलिकम शाखा कार्यालय बाजुराका सूचना अधिकारी मानबहादुर रोकायाले त्यस क्षेत्रमा टेलिकमका सेवा अवरुद्ध हुनुको कारण सोमबारदेखिको लगातारको हिमपात र वर्षाले सौर्य ऊर्जामा समस्या उत्पन्न भएको हुनसक्ने बताएका छन् । रासस