काठमाडौँ– काठमाडौँको गोङ्गबुमा ग्याँस सिलिण्डर पड्किँदा आज एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


आज दिउँसो करीब १२ः३० बजेको समयमा श्याम ढुङ्गानाले सञ्चालन गरेको पिस नेपाल ह्याण्डीक्राफ्ट उद्योगमा सिलिण्डर पड्किँदा नुवाकोटको बेलकोट बस्ने ३२ वर्षीय मजदुर काजी तामाङ्को मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका तामाङ्को उपचारका क्रममा अपरान्ह ३ः३० बजे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सो क्रममा उद्योगका मजदुर कैलाश श्रेष्ठ, राजकुमार विसी, रोशन तामाङ र अनिल पोखरेल घाइते भएका छन् । घाइतेको बयोधा अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनाको यकिन कारण भने नखुलेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सिलिण्डर पड्किएर उद्योगमा आगलागीसमेत भएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइनसकेको प्रवक्ता बोगटीले बताए ।