काठमाडौँ– अवैधानिक भएको भन्दै यतिबेला मोटरसाइकलमार्फत यात्रु ओसारपोसार गर्ने कम्पनी ‘टुटल’ र पठाओलाई महानगरीय ट्राफिक प्रहरीले रोक लगाएको छ । विभिन्न क्षेत्रबाट गुनासो आएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसको निगरानी शुरु गरेको जनाएको छ ।


ADVERTISEMENT


टुटल’ र ‘पठाओ’ विभागमा दर्ता नभएकोले कानुन मिचेर कारोबार गरिरहेकोले रोक लगाएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) जयराज सापकोटाले बताएका छन् । उनले भने, ‘यातायात विभागले ती दुईओटा कम्पनीहरुको वैधानिकता छैन भनेर पत्र पठाएको छ, उनीहरुलाई हामीले डकुमेन्ट र वैधानिकता खुल्ने कागजात लिएर आउन भनेका छौं । कानूनी प्रक्रिया नपुर्याएसम्म यस्तो पेशा गर्न कसैलाई छुट छैन’


ADVERTISEMENT

# # #


सार्वजनिक यातायातको अव्यवस्थाले गर्दा राजधानीमा धेरै नेपाली युवाहरूले यो सेवा प्रयोग गर्ने र सवारीसाधन भएकाहरूले फुर्सदमा केही आयआर्जन गर्ने गरेका थिए। तर, अवैधानिक भन्दै यसलाई प्रहरीले रोक लगाएपछि सामाजिक सञ्जालमा यसका बारेमा चर्को बसह सुरु भएको छ । उपत्यकामा ट्याक्सी चालकबाट यात्रु ठगिरहँदा ‘टुटल’ र ‘पठाओ’ राम्रो सेवा दिइरहेकाले सञ्चालन गर्न दिनुपर्ने आवाज उठिरहेका छन् ।

यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका निजी सवारी साधनले उपदफा २ बमोजिम भाडाको यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ।

यसै नियमको आधारमा ट्राफिक प्रहरीले गरेको कारबाहीबारे फेसबुक र ट्विटरमा पक्ष र विपक्षमा टीकाटिप्पणी भएका छन् । साहित्यकार बुद्धिसागर लेख्छन्, ‘ट्याक्सीले यात्रुलाई गर्ने अपमान र ठगी देख्दादेख्दै कहिल्यै जनताको माया लागेन । विकल्पका रुपमा टुटल प्रभावकारी भयो, अनि जनताको माया लायो । माया पनि घाऊँमै चोर औलाले प्याट्ट हानेर गर्यो ।’

यी दुई कम्पनीले राम्रो सेवा दिइरहेको भन्दै कार्टुनिस्ट रवी मिश्रल लेख्छन्, ‘छिटफुट अपवाद बाहेक ट्याक्सी चढ्नु ठगिनु हो । सार्वजैनिक यातायात यातना हो । कुरैले सुध्रिन्थ्यो त उहिल्यै सुध्रिन्थ्यो । आवस्यकता दवावको हो । बिकल्प नआइ दवाव सिर्जना हुन्न । टुटल, पठाओ विकल्प हुँदैथिए । कानुनका नाममा सधैं यात्रुले यातना भोग्नुपर्ने ? यात्रुले ठगिनुपर्ने ?’

नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङ आफ्नै देशमा केही गर्न चाहने युवाहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताउँछन् । बरु तुरुन्तै यससम्बन्धी नीति बनाएर नियमन गर्नुपर्ने उनको तर्क छ ।

यस्तै थुप्रैले कानुनभन्दा बाहिर कुनै व्यवसाय हुनु नहुने भन्दै प्रहरी कारबाहीलाई समर्थन गरेका छन् ।


यसरी गर्छ ‘टुटल’ र ‘पठाओ’ले काम

‘टुटल’ र ‘पठाओ’को मोबाइल एप्लिकेसन बनेको छ । त्यही एप्लिकेसन डाउनलोड गरी ग्राहकहरु जोडिन सक्छन् । एप्लिकेसनमार्फत यात्रुले फलानो ठाउँबाट फलानो ठाउँमा जाने भनेर लेखेर पठाउँछन् । त्यसको जवाफ तुरुन्तै आउँछ ।

यति मुल्यमा यति लाग्छ भनेर रुट र नक्सासहित आउँछ । यात्रुले ‘ओके’ भनेपछि एकै छिनमा तोकेको ठाउँमा मोटरसाइकल आइपुग्छ । उनीहरुले न्यूनतम रु ३० रुपैयाँ र प्रतिकिलोमिटर रु १५ का दरले शुल्क लिने गरेका छन् । यो ट्याक्सीको मिटर प्रणाली जस्तै हो । तर यसमा भने ग्राहक आफैँले प्रविधिको प्रयोग गरी सेवा लिन सक्छन् ।

मुख्यगरी नाकाबन्दीका बेलामा सवारीको अभाव हुँदा यो प्रविधिको विकास भएको थियो । टुटलका एक जना सञ्चालक शिशिर भट्टले प्रविधि प्रदायक कम्पनी भएकाले आफूहरुले प्रविधिको विकास मात्रै गरेको बताए। उनले आफूहरु यातायात व्यवस्था विभागसँग सम्बन्धित नै नभएको उल्लेख गरे । तर एप्समार्फत प्रयोग हुने मोटरसाइकललाई प्रहरीले पक्राउ गरेपछि आफ्नो व्यवसाय पनि प्रभावित हुने भट्ट बताउँछन्।प्रहरीका अनुसार यो प्रविधिको प्रयोग गरेबापत ९७ प्रतिशत मोटरसाइकलवालाले र तीन प्रतिशत प्रविधि सञ्चालकले लिने गरेका छन् ।