जाजरकोट, २१ पुस (रासस) : मौरीपालन व्यावसाय विस्तारसँगै जाजरकोट नलगाडका किसानको आर्थिक अवस्थास्थितिमा सुधार हुन थालेको छ । नलगाड नगरपालिकाको डाँडागाउँ, लह, खगेनकोटलगायत क्षेत्रमा व्यावसायिक रूपले मह उत्पादन हुने गरेको हो ।

उक्त नगरपालिकाले मौरीपालक किसानलाई सहयोग उपलब्ध गराएकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष १५ प्रतिशतले मह उत्पादन बढेको किसानले बताएका छन् । वन विनास तथा अतिक्रमण, जलवायु परिवर्तन, चरण क्षेत्र अभाव र समयमा चिउरी नफुलेका कारण गत वर्ष मह उत्पादन घटेको थियो । यस वर्ष भने महको उत्पादन बढेको नलगाड कृषि शाखा प्रमुख महेशकुमार विष्टले बताउनुभयो । गत वर्ष नलगाडमा मात्रै आठ हजार किलोग्राम मह उत्पादन भएको उहाँको भनाइ थियो ।


ADVERTISEMENT


गत वर्ष जाजरकोटमा २० मेट्रिक टन मह उत्पादन भएको थियो । यहाँका २५० भन्दा बढी मौरीपालक किसान मह उत्पादन बढेसँगै आम्दानी वृद्धि भएपछि खुशी भएको डाँडागाउँका लेखबहादुर खड्काले बताउनुभयो ।


ADVERTISEMENT

# # #


प्राङ्गारिक महका लागि सबैभन्दा उत्तम आहारा चिउरी हो । माग धेरै भएका कारण महको मूल्य पनि आकाशिएको छ । विगतमा प्रतिकिलो ५०० पर्ने मह अहिले ७०० पुगेको किसानले बताएका छन् । डाँडागाउँका रणबहादुर खत्रीले भन्नुभयो, “महको माग बढी छ, मह उत्पादन घट्नुभन्दा पनि मौरी जोगाउनै समस्या छ ।” मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको नलगाड–२ कलपतका मौरीपालक किसानलाई नगरपालिकाले सहयोग गरेपछि उनीहरू उत्साहित भएका हुन् । प्राङ्गारिक महको माग बढेकाले अहिले व्यापारी किसानको घरमै मह खरीद गर्न पुग्ने गरेका छन् ।

उक्त नगरपालिकाभित्र मह उत्पादन हुने ठाउँमा यातायातको सुविधा भएकाले किसानलाई व्यापार गर्न सहज भएको छ । शुरुमा परम्परागत घारबाट मह उत्पादन गरेका यहाँका किसान अहिले आधुनिक घारको प्रयोग गरी मौरीपालन व्यावसाय गर्न थालेका छन् । उक्त नगरपालिकामा चार हजार मौरीघार छन् भने जिल्लाभर छ हजार घार रहेको बताइएको छ । मौरीपालक किसान अहिले यहाँको चिउरीको रुख संरक्षणमा लागेका छन् । वन मासिँदै जाँदा मौरीपालन व्यवसाय सङ्कटमा पर्ने भन्दै उनीहरुले चिउरी संरक्षणमा लागेका हुन् ।