काठमाडौँ– बुधबार तीन वटा प्रदेशमा सम्पन्न भएको स्थानीय तहको दास्रो चरणको निर्वाचनको मतगणना सुरु भएसंगै प्ररम्भिक मतपरिणाम आउन थालेको छ ।


ADVERTISEMENT


हिजो सम्पन्न प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये १ सय ७० भन्दाबढी स्थानमा मतगणना सुरु भइसकेको निर्वाचन आयोगले जनाएको छ । केही ठाउँका केही वडाका अन्तिम मत परिणाम पनि सार्वजनिक भइसकेका छन् । विभिन्न गाउँपालिका र नगरपालिकामा मत गणना शुरु भएको समाचार प्राप्त भएका छन् । हिजो मतगणना शुरु नभएका स्थानमा आजबाट मतगणनाको तयारी भैरहेको छ । केही ठाँउमा वडा तहका मतगणना सकिएका छन् ।


ADVERTISEMENT

# # #


बिहीबार बिहान ११ बजेसम्मको नतिजामा नेपाली कांग्रेस २५ स्थानीय तहमा अगाडी छ भने नेकपा एमाले २० स्थानसहित दोस्रो स्थान बनाउन सफल भएको छ । त्यस्तै माओवादी केन्द्र ९ स्थानसहित तेस्रो र अन्य साना दलले ३ स्थानमा अग्रता कायम गरेका छन् ।

डोटीको सिलगढी नगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, उदयपुरका २ स्थानीय तहलगायतमा नेपाली कांग्रेसको अग्रता रहेको छ ।  तेह्रथुमको दलालिगुरास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, झापाको कन्काइ नगरपालिका लगायतमा एमाले अगाडी छ । राप्रपा र संघीय समाजबादीले पनि नवलपरासीका केही स्थानमा अग्रता कायम गरेका छन् ।

यस पटक आयोगले प्रथम चरणको निर्वाचनको अनुभवको आधारमा यसपटक मतगणना छिटो सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाइएको जानकारी दिएको छ । छिटो मतदान सम्पन्न गर्न आवश्यक जनशक्तिको व्यवस्थापन गर्न, भौतिक सुविधा र सुरक्षा व्यवस्था मिलाउन निर्वाचन अधिकृत र स्थानीय प्रशासनलाई निर्देशन दिइएको निर्वाचन आयोगले जनाएको छ ।

हिजो प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कम्तीमा ७० दशमलव ५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा ७३ प्रतिशत मतदान भएको थियो । दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् । निर्वाचनमा ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

हिजो निर्वाचन भएका ३५ जिल्लामध्ये सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको थियो ।

प्रदेश नं १, ५ र ७ गरी ३५ जिल्लाका ३३४ स्थानीय तहका कुल आठ हजार ३६४ मतदान केन्द्रमध्ये बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु मावि मतदान केन्द्र ‘क’, ‘ख’ बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको आयोगले जनाएको छ ।

सोलुखुम्बुको नेचा गाउँपालिका–६ मा स्थानीय राजनीतिक दल र जनताले गाउँपालिकाको स्वरुपप्रति असहमति जनाउँदै मतदानमा भाग लिएनन् भने नलवपरासी सरावल गाउँपालिकाको वडा नं ६ को जनता मावि भुजहवा मतदान केन्द्रमा दुई मत मात्र खसेको छ ।