विराटनगर– मोरङका दुईवटा स्थानीय तहमा मतगणना जारी र अन्य तहमा मतगणनाको तयारी भइरहेको छ ।


ADVERTISEMENT


उर्लाबारी नगरपालिका र कटहरीमा मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । कटहरीमा बिहान ६ः४५ बजेसम्ममा १०० मतपत्र गिन्ती भइसकेको छ । उर्लाबारीमा मतपत्र गिन्तीको सङ्ख्याको सम्बन्धमा जानकारी प्राप्त नभएको सो कार्यालयका सूचना अधिकृत भक्तबहादुर भट्टराईले जानकारी गराएका छन् ।


ADVERTISEMENT

# # #


यसैबीच, विराटनगर महानगरपालिकामा आज बिहान सर्वदलीय बैठकपछि मात्र मतगणना सुरु हुने बताइएको छ । मोरङका अन्य स्थानीय तहमा मतगणनाको तयारी भइरहेको बताइएको छ ।

इटहरी : सुनसरी जिल्लाको स्थानीय तह निर्वाचनको मत परिणाम घोषणाका लागि दुई गाउँपालिकामा बुधबार राति अबेरदेखि मत गन्ने कार्य प्रारम्भ गरिएको छ । ६ गाउँपालिका, चार नगरपालिका र दुई उपमहानगरपािलका रहेको यस जिल्लाको बर्जु र भोक्राहा गाउँपालिकामा मतगणना प्रारम्भ भएको हो ।

बर्जु गाउँपालिकाका निर्वाचन अधिकृत नवराज आचार्यका अनुसार पछिल्लो मतगणना परिणामअनुसार कुल खसेको मतमध्ये ३०० मतगणना हुँदा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र मेहताले ८८ मत उपप्रमुख सुमित्रादेवी गुरुङले ८९ मत प्राप्त गरेका छन्।

त्यसैगरी, नेकपा (एमाले)का अध्यक्ष पदका उम्मेदवार फनिलाल चौधरीले ६८ मत उपाध्यक्ष सोमकुमारी गुरुङ रायले पनि ६८ मत नै प्राप्त गरेका छन् ।

त्यस्तै, फोरम लोकतान्त्रिकका अध्यक्ष पदका उम्मेदवार रघुनन्दन चौधरीले ४५ मत, उपाध्यक्षकी सङ्गीताकुमारी रायले ४९ मत ल्याएका छन् । नेपाली काँग्रेसका अध्यक्षका उम्मेवार इस्राइल अन्सारीले १९ र उपाध्यक्ष खसारी थरुनीले २० मत ल्याएको प्रारम्भिक मत परिणाम सार्वजनिक गरिएको छ ।

त्यसैगरी, भोक्राहा गाउँपालिकामा पनि मतगणना सुरु गरी २०० मत गणना गरिसकिएको भए पनि त्यसको परिणाम सार्वजनिक गरिएको छैन । अन्य स्थानीय तहको मतगणना कार्य आज बिहान ९ देखि १० बजेबाट गणना हुने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यो निर्वाचनमा सबैभन्दा बढी देवानगन्ज गाउँपालिकामा ८० प्रतिशत मत खसेको छ । सुनसरीमा ७४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको तथा त्यसमा एक–दुई प्रतिशत तलमाथि हुन सक्ने पनि जिल्ला निर्वाचन कार्यालयले बताएको छ ।

सुरुङ्गा (झापा) : झापामा रहेका १५ वटा स्थानीय तहमध्ये चार नगरपालिका र तीन गाउँ पालिकामा मतगणना गए रातिदेखि नै सुरु भएको छ ।

भद्रपुर, दमक, गौरादह र कनकाई नगरपालिकामा गए रातिदेखि नै मतगणना सुरु भएको हो ।

त्यस्तै, कमल, गौरिगन्ज गाउँपालिकामा पनि मतगणना भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । पछिल्लो जानकारीअनुसार गणना भएकामा भद्रपुर नगरपालिका र कमल गाउँपालिकाको पहिलो मतपरिणाम बाहिर आएको छ ।

पछिल्लो परिणामअनुसार दुई तहमा एमालेले अग्रता लिएको छ । भद्रपुर नगरपालिकामा २०० मतगणना गरिसक्दा प्रमुखमा एमालेका जीवन प्रधानको ७२ मत, त्यस्तै माओवादी केन्द्रका शिवकुमार राजभण्डारीको ५५, नेपाली काँग्रेसका गणेश पोखरेलको २८ र राप्रपाका नवराज पनेरुले २१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, कमल गाउँपालिकाको २०८ मतगणना भइसक्दा एमालेका मेनुका काप्लेको ८९ मत, काँग्रेसका हुकुमसिंह राईको ५७ , माओवादी केन्द्रका बिमल सङ्ग्रौलाको ३७ र राप्रपाका विष्णु पौडेलले सात मत प्राप्त गरेका छन् ।

दमक नगरपालिकाको पनि मतगणना आज बिहान ४ बजेदेखि सुरु भएको छ ।

 

बनियानी (झापा) : दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मतगणना झापामा सुरु भएको छ । बुधबार भएको मतदानमा झापाको हल्दिबारी गाउँपालिकामा बिहीबार बिहान १ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत पदमबहादुर कार्कीले जानकारी दिए ।

अधिकृत कार्कीका अनुसार बिहीबार बिहान ६ः३० बजेसम्म ४०० मतगणना भएको छ । गणनाअनुसार नेपाली काँग्रेस ५४, नेकपा एमाले १३६, नेकपा माओवादी केन्द्र ३९ र राप्रपा नेपालले ३५ मत प्राप्त गरेका छन् भने पाँच मत बदर भएको छ । कुल १८ हजार ८९२ मतदाता रहेको यहाँ १३ हजार ९९६ मत खसेको निर्वाचन अधिकृत कार्कीले जानकारी दिए ।

यता, कचनकवल गाउँपालिकामा पनि राति १२ बजेदेखि मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत देवीबहादुर भण्डारीका अनुसार बिहान ८ बजेसम्म ४८० मत गणना भइसकेको छ ।
जिल्लाभर आठ नगरपालिका र सात गाउँपालिकामा पाँच लाख १० हजार ८१६ मतदाता रहेका छन् ।