तेह्रथुम । तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको टुटे देउराली भएर तीनजुरे, चौकी, मङ्गलबारे, गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्मको क्षेत्रमा केही वर्ष अघिसम्म स्थानीय बासिन्दाबीच चौंरीलाई भारी बोकाउने प्रतिस्पर्धा चल्थ्यो। यो मार्गमा जसले धेरै चौंरी पालेर भारी बोकाउने व्यवसाय गर्छ, ऊ ठूलो व्यवसायी गनिन्थ्यो।


ADVERTISEMENT


वसन्तपुर, टुटे देउराली, चौकी, मङ्गलबारे, गुफा, साँघु हुँदै दोभानसम्मको मार्गमा धेरै व्यवसायीहरूले चौंरी र खच्चडलाई भारी बोकाएर प्रशस्त कमाउँदै आएका थिए तर, अहिले अवस्था फेरिएको छ। माथिल्लो पहाडी र तल्लो हिमाली क्षेत्रमा चौंरी र खच्चडलाई भारी बोकाएर हिँडाउने वसन्तपुर गुफा हुँदै ताप्लेजुङको दोभानसम्मको पदमार्गमा यतिबेला सडकको डोब मात्रै तयार भएको छैन, सवारीका साधनहरूसमेत आवतजावत गर्न थालेका छन्।


ADVERTISEMENT

# # #


पर्यटकीय यी क्षेत्रका डाँडाकाँडामा सडक निर्माणसँगै सवारी साधनले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढुवानी गरिदिएका छन्। यसैकारण चौंरी र खच्चड पालेर भारी बोकाउने व्यवसाय गर्दै आएकहरूले पेशा परिवर्तन गर्नुपर्‍यो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गममा रहेको यो तीनजुरे मिल्के जलजले क्षेत्र गुराँसको राजधानीको रूपमा चर्चित छ। यी क्षेत्रमा सडक पुगेपछि चौंरीलाई भारी बोकाएर जीविकोपार्जन र आयआर्जन गर्दै आएका धेरैको पुस्तौनी पेशा फेरिएको गुफापोखरी आधारभूत विद्यालयका प्रधानाध्यापक हिमा खनालले बताए।

धेरैजसोले चौंरी र खच्चड पनि विक्री गरिसकेका छन्। पहिले यो मार्गमा भरियाले खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तु बोकेर माथिल्लो क्षेत्रमा पुर्‍याउँथे। पछि यो काम चौंरी र खच्चडले गर्न थाले। भरियाको तुलनामा चौंरी र खच्चडले धेरै सामान बोक्ने भएकाले धेरै व्यवसायी यतातिर आकर्षित थिए तर, त्यो पनि अब रहेन सडकको सुविधा थपिएपछि।

यही मार्ग भएर सडक निर्माण भएपछि भने सयौं चौंरी र खच्चड व्यवसायी एकैसाथ यो पेशाबाटै विस्थापित भएको गुफा बजारका होटल व्यवसायी हरि खनालले बताए। सुरूमा माथिल्लो क्षेत्रका भोटे समुदायले मात्र अपनाएको चौंरीलाई भारी बोकाउने व्यवसायमा पछिल्लो समय अन्य जाति र समुदायका मानिससमेत संलग्न भएका थिए।

यो मार्गमा चौंरी र खच्चडलाई भारी बोकाउने व्यवसाय गर्दै आएका छिरिङ लामा अहिले यो व्यवसाय छाडेर निर्माण व्यवसायमा लागेका छन्। एक दशकअघिसम्म उनी यो मार्गमा ३० वटाभन्दा बढी चौंरी र खच्चडलाई वसन्तपुरबाट सामान बोकाएर ताप्लेजुङका विभिन्न ग्रामीण क्षेत्र र बजारसम्म पुर्‍याउने काम गर्थ्ये। चौंरी धपाउने मार्ग भएर मोटर बाटो निर्माण भएपछि आफूहरूले बाध्य भएर पेशा नै परिवर्तन गर्नुपरेको लामाले बताए।

त्यस्तै, गुफापोखरीमा ५० भन्दा बढी चौंरी र खच्चड पालेर भारी बोकाउने व्यवसाय गर्दै आएका ग्याबु शेर्पाले वसन्तपुर हुँदै निर्माण भइरहेको मोटर बाटो घरका आँगनसम्मै आइपुगेपछि सबै चौंरी र खच्चड विक्री गरेर ल्यान्डरोभर गाडी किनेका छन्। पुर्खाले गर्दैआएको चौंरीलाई भारी बोकाउने पेशा सडकले खोसिदिएपछि बाध्य भएर अर्को पेशामा लागेको शेर्पा बताउँछन्।

अहिले सुनसरीको धरानदेखि सिधै टिएमजे क्षेत्रसम्म दैनिक बस सेवा उपलब्ध छ। घुम्न जानेहरू बस चढेरै टिएमजे पुगिरहेका छन्। धरानदेखि कोशी राजमार्ग भएर तेह्रथुमको वसन्तपुर पुगेपछि निर्माणाधीन मदन भण्डारी राजमार्गबाट ताप्लेजुङको साँघुसम्म दैनिक बस सेवा उपलब्ध रहेको व्यवसायी कासाङ शेर्पाले बताए।

उनले भने, ‘बसमा यात्रु खचाखच हुन्छन्। त्यसमध्ये आन्तरिक पर्यटक नै धेरै हुन्छन्।

दैनिक यातायात सेवा उपलब्ध भएपछि टिएमजे क्षेत्रका बासिन्दालाई समेत सुविस्ता भएको छ।

दैनिक उपभोग्य वस्तुको ढुवानीदेखि आवातजावत र बिरामी पर्दा अस्पताल पुग्न सहज हुन थालेको गुफाबजारका धार्के शेर्पाले बताए।

‘पहिले बिरामी पर्दा अस्पताल पुग्न नपाई मर्नु पर्थ्यो, त्यसमध्ये धेरै प्रसूति पीडाले मर्थे,’ चौकीबजारका उदयकुमार तामाङले भने, ‘अहिले कमसेकम त्यो कहालीलाग्दो अवस्था हटेको छ।’

निर्माणाधीन यो सडकलाई सरकारले मदन भण्डारी लोकमार्गको रुपमा नामकरण गरी प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ। दुई वर्षभित्र सडकलाई स्तरोन्नति गरी बाह्रैमास सवारी सञ्चालनयोग्य बनाउन पहल भइरहेको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले बताए।

सडकमा सवारी चल्न थालेपछि तेह्रथुमको लालीगुराँस नगरपालिका, संखुवासभाको मादी नगरपालिका, धर्मदेवी नगरपालिका र चैनपुर नगरपालिका तथा ताप्लेजुङको मैयाखोला गाउँपालिकाका बासिन्दालाई दैनिकी चलाउन सहज भएको छ ।

गाउँबाट पूर्वी तराईको धरानसम्म पुग्न सहज भएको छ । सडकका कारण दैनिक आवतजावतसँगै बिरामी पर्दा समयमै अस्पताल पुग्न सहज भएको चौकीबजारका व्यवसायी उदयकुमार तामाङले बताए। तामाङका अनुसार सडक निर्माण भएपछि धेरै व्यवसायीहरू चौंरी र खच्चड विक्री गरेर अन्य पेशा व्यवसायमा लागेका छन् ।

सडकले यहाँका ग्रामीण बजारहरूमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य सस्तिएको छ। यहाँ आउने पर्यटकलाई समेत आवतजावतमा सहज भएको छ। तीनजुरे मिल्के जलजले क्षेत्रको मुख्य गन्तव्यको रूपमा गुफापोखरी क्षेत्रसम्म पुग्न आन्तरिक तथा बाह्य पर्यटकले बस चढेरै टिएमजे घुम्न आउँछन्। रासस