गत असार २० गते केपी शर्मा ओली नेतृत्वको सरकारले देउवा सरकारका पालामा २०७४ भदौ देखि  भएका नियुक्तिका निर्णयहरु खारेज गर्ने निर्णय गर्यो । सोही निर्णयसंगै दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा पनि बर्खास्तीमा परे । २०६९ सालमा पनि प्राधिकरणको अध्यक्ष भइसकेका झाले १७ जनालाई पछि पार्दै फेरि प्राधिकरणको नेतृत्व सम्हाल्न पुगे । सरकारले उनलाई भदौ २१ गते पुनः प्राधिकरणको अध्यक्ष बनाउने निर्ण गर्यो । तर, उनीमाथि आर्थिक पारदर्शिता नअपनाएको भन्ने आरोप लाग्यो । सत्तारुढ दल नेकपाको भर्खरै सम्पन्न स्थायी समितिको बैठकमा आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भने पनि प्रधानमन्त्रीले दिगम्बर झाजस्तालाई नियुक्ति गरेको भन्ने आरोप चर्कोसंगले उठ्यो । । असन्तुष्ट ४३ जना नेकपा केन्द्रीय सदस्यले झालाई प्राधिकरणको अध्यक्षबाट तत्कालै हटाउन माग गर्दै  हस्ताक्षर सहितप्रधानमन्त्रीलाई पत्र नै लेखे । यस विषयमा हिमालय पोष्टको प्रश्न, झाको उत्तर  :


ADVERTISEMENT


तपाईको विषयमा सत्तारुढ पार्टी नेकपाको स्थायी समितिको बैठकमा जुन किसिमका कुराहरु उठे नि । त्यसमा तपाईको प्रतिक्रिया के छ ?


ADVERTISEMENT

# # #


राजनीतिक व्यक्तिहरुको बीचमा आरोप प्रत्यारोप होला । तर, म धेरै खिन्न र दुःखी छु किनकि त्यसमा मलाई फसाइएको छ । सबैभन्दा पहिले म यो भन्न चाहन्छु कि चाहे आयल निगममा होस् वा नेपाल सरकारको जागीरे भएर सार्वजनिक पद धारण गर्दैगर्दा आजसम्म कुनैपनि आरोप म माथि लागेको छैन । अहिले अध्यक्ष भएर बसेको छु । यो मेरो तेस्रो कार्यकाल हो । यदि मैँले केही गरेको छु भने ममाथि छाबिन होस् । दिगम्बर झाले गल्ती गरेको कतै देखियो भने सार्वजनिक पद त्याग गरेर म जस्तोसुकै सजाय भोग्न तयार छु । त्यसका लागि अदालतबाटै प्रमाणित हुनुपर्दैन । तर मेरो पनि एउटा मान प्रतिष्ठा छ ।

पहिलो नियुक्ति हुनुभयो, फेरि हटाइनु भयो र फेरि नियुक्त हुनुभयो । तपाईको नियुक्तिमाथि नै प्रश्न उठाइएको छ । यो किन भएको हो ? तपाईलाई के लाग्छ ?

सबैभन्दा पहिला यो भनौँ कि वर्तमान सरकारले अघिल्लो वर्ष देउवा सरकारका पालामा भदौ १४ पछि भएका सबै नियुक्तिलाई खारेज गरिदियो । मपनि त्यसमा परेँ । त्यसपछि म अदालत गएँ । त्यसपछि अदालतले आदेश दियो । तर ‘सरकारको चाहना विरुद्धमा वा राज्यको चाहनाविरुद्धमा मैँले त्यहाँ काम गरेँ भने यो क्षेत्रका काम अगाडि बढ्दैन । यो क्षेत्र नै धराशयी हुने अवस्था आउँछ । किनभने सरकारको सहमती बिना यो क्षेत्रको ९० प्रतिशत काम अगाडि बढ्दैन । त्यसरी कुर्चीमा बस्नु र नबस्नुमा केही फरक छैन र मलाई नेपाल सरकारले पत्याउँछ भने काम गर्छु, राष्ट्रको सेवा गर्छु । यदि पत्याउँदैन भने मलाई जागीर मात्रै खाएर बस्नुछैन’ भनेर छोडिदिएको हुँ ।

त्यसपछि खाली भएको सिटमा नेपाल सरकारले पुनः विज्ञापन गर्यो । १७ जनाले दरखास्त दिए । म कतैबाट दण्डित भएको होइन, त्यसको लागि योग्य छु भनेर मैँले पनि त्यहाँ दरखास्त दिएँ । मेरो योग्यता, क्षमता र विगतका कामलाई मूल्याङ्कन गरेर सरकारले मलाई सिफारिस गर्यो । सरकारले मलाई पुनः मौका दिँदैमा म अपराधी भएँ र ? यो त सरकारलाई सोध्ने कुरा हो ।

म आफूलाई दरखास्त दिएकामध्ये योग्य र काम गर्न सक्ने ठान्छु । चाहे अप्टिकल फाइबरका कुरा होस् वा स्याटेलाइटका, गाउँ गाउँमा इन्टरनेट सेवा पुर्याउनेदेखि ‘इन्टरनेसनल कल मोनिटरिङ’ का कुरासम्म मैँले सबै कामलाई अगाडि बढाएको छु । मलाई लाग्छ, सरकार मैँले गरेका विगतका काम र मेरो योग्यताबाट प्रभावित भएर मलाई यो मौका दिएको हो । यसमा यदि कसैलाई कुनै प्रकारको आशंका छ भने त्यो एकदम निराधार र गलत कुरा हो । बिना कुनै प्रमाण लाञ्छना लाउन पाइँदैन ।

तपाईले आर्थिक चलखेल, आर्थिक लेनदेनका कुराहरु गर्नुभयो वा सोझै अर्थमा भन्नुपर्दा भ्रष्टाचार गर्नुभयो भन्ने आरोप पनि लगाइएको छ नि ?

मैँले आफुलाई एउटा कुशल व्यवस्थापकको रुपमा स्थापित गरेको छु । अरुजस्तै कर्चीमा बसेर जागीर खानका लागि म यहाँ आएको होइन । काम गर्न आएको हुँ र काम गर्छु । इमान्दारितापूर्वक राष्ट्रको सेवा गर्न मौका पाएको छु । ममाथि आरोप नै पुष्टी नगरेर कसरी भ्रष्टाचारीको तक्मा भिडाइयो ? त्यसमा मेरो खेद छ । यस्ता राजनीतिकर्मीहरु म अनुरोध गर्न चाहन्छु कि बिनाअपराध हामीजस्ता साधारण कर्मचारीलाई यसरी बदनाम नगरियोस् ।

मैँले पैसाको ‘प’समेत समेत उच्चारण गरेको छैन । म नेपाल सरकारको निर्देशन अनुसार काम गर्छु । नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सफल पार्ने र प्रधानमन्त्रीको डिजिटल नेपालको अवधारणा र सपनालाई साकार पार्न म पूरै मेहनतका साथ काम गरिरहेको छु । त्यसबाहेक केही छैन । ममाथि गलत अफवाह फैलाइँदैछ । त्यसमा शून्य प्रतिशत पनि सत्यता छैन ।

तर तपाईका विरुद्धमा त हस्ताक्षरसहितको आवाज उठाइएको छ । अब के गर्नुहुन्छ ?

यी राजनीतिक कुराहरु हुन् । उहाँहरुबीचमा यो उठाउने कुरा होला । यसमा म पर्न चाहँन्न । उहाँहरुले यसको बारेमा मलाई सोध्नुपनि भएको छैन । मेरोविरुद्धमा उहाँहरुले आवाज उठाउनुपर्ने त्यस्तो केही गलत काम गरेको छैन । मनगढन्त रुपमा त्यस्ता आरोप लगाउन पाइँदैन । म आफू एउटा व्यवस्थापक मान्छे, यस्ता राजनीतिक कुरामा पर्न चाहन्न।

केहीबेरको लागि सय पटक भनेर झुटलाई पनि सत्य साबित गर्न सकिन्छ, केहीबेरको लागि । तर, झुट भनेको झुट नै हो । म सत्यमा अडिग छु र सत्य साबित हुन्छ । तर, यहाँ सयपटक बोलेर झुटलाई पनि सत्य साबित गर्ने प्रयास गरिँदैछ । जुन दुर्भाग्य हो । यसमा म खेद प्रकट गर्न चाहन्छु । मलाई घुन बनाएर पिस्न खोजियो तर, म उहाँहरुको आपसी मामलामा पिल्सिन चाहन्नँ ।