काठमाडौँ– नेपाल आर्मीको लप्टन भन्दै ठगी गर्दै हिँड्ने व्यक्तिलाई बडिगार्ड बनाएको भनेर विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति नेकपा नेतृ भगवती चौधरीले आपत्ति जनाएकी छिन् । सोमबार एक विज्ञप्ती जारी गर्दै नेतृ चौधरीले नक्कली सेना प्रयोगको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी हुन् ।


ADVERTISEMENT


केहि दिन अघि सुनसरीको दुहवीमा नक्कली सेना बनेर ठगी गरेको आरोपमा पक्राउ परेका सुगम ठकूरी आफ्नो छोराको परिचयमा भएकाले आफ्नो घरमा केही दिन आएपनि नक्कली सेनाको रुपमा प्रयोग नगरेको बताएकी हुन् ।


ADVERTISEMENT

# # #


‘ऊ पनि सुनसरीकै भएकाले मेरो छोरासंग उसको सम्पर्क भएको रहेछ । त्यसकारण मैँले एक दुई पटक उसलाई मेरो घरमा देख्दा ‘तिम्रो पारिवारिवारिक पृष्ठभूमि के हो ?’ भनेर केरकार गर्दा उसले आर्मीमा भर्ती हुने तयारी गरेको बताएको थियो । मेरो छोराले मसंग कहिलेकाहीँ चुनावी घरदैलोमा जाँदा निज सुगम पनि कहिलेकाहीँ आएको हो । तर, समाचारमा भनेजस्तो उसलाई आफ्नो बडिगार्ड पक्कै राखेको होइन’ जारी विज्ञप्तीमा उल्लेख छ ।

निर्वाचन पश्चात आर्मीमा भर्ति भएर तालिम लिँदा आफू भगवती चौधरीको छोरा हुँ भनेर आर्मी अफिसरलाई गलत बोलेको प्रति उनले भनेकी छन्, “ ‘म भगवती चौधरीको छोरा हुँ’ भनेर आर्मीमा भनेपछि आर्मीका कर्नेल लक्ष्मीभक्त श्रेष्ठ र मेजर केशब कार्कीले मलाई फोन गरेपछि मैले तत्कालै कर्नेल श्रेष्ठलाई ‘मेरो एउटा मात्र छोरा छ, त्यो पनि देहरादुनमा अध्ययनरत छ । मेरो छोरा हैन’ भनिसकेकी थिए ।” चौधरीले उल्लेख गरेकी छिन् ।

चौधरीले सुगमलाई आर्मीमा भर्ती गराउन आफुले कसैलाई सोर्सफोर्स नलगाएको पनि जिकिर गरेकी छिन । ‘समाचारमा उल्लेख गरेजस्तो उसलाई भर्ती गराउन मैले नेपाल आर्मीका कुनैपनि तह र तप्कामा दवाव दिएको छैन ।’ उनले भनेकी छन्, ‘गएको कार्तिक महिनामा सुनसरी दुहवीमा आयोजित एक फुटवल प्रतियोगितामा जाँदा सुगम ठकूरी आर्मीको ड्रेस सहित आएको रहेछ । उक्त समय मसँग मेरो छोरा पनि साथमा रहेकोले उसले म बसेको ठाउँमा आएर छोरासँग गफ गरेको अवस्थामा मैले ‘यसरी सार्वजनिक कार्यक्रममा ड्रेस लगाएर नआउ’ समेत भनेको थिए । त्यसपछि उक्त व्यक्तिसँग मेरो कुनै भेटघाट समेत भएको छैन ।’

चौधरीले गलत समाचारले आफ्नो ब्यक्तित्व, इमान्दारिता र राजनीतिमै असर पुर्याउने काम गरेको बताउँदै त्यस्ता दुस्प्रचार नगर्न आग्रह गरेकी छिन् । साथै चोधरीले नक्कली आर्मी बनेर सर्वसाधारणलाई ठग्ने त्यस्ता ब्यक्तिलाई कारवाहीको माग गरेकी छिन् । ‘नेपालको कानुनलाई मिचेर कसैले अपराध गर्दै हिँड्छ, सेनाको लप्टन हुँ भन्दै नक्कली परिचयपत्र बनाएर हिँड्छ र सर्वसाधारण जनतालाई ठग्ने गर्दछ भने त्यस्ता ब्यक्तिलाई सजायको भागिदार बनाउनै पर्दछ ।’ उनले भनिन् ।