नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य


ADVERTISEMENT


अहिले कांग्रेसमा महासमितिको बैठक चलिहेको छ । यो अवस्थामा कांग्रेस कस्तो देख्नुहुन्छ ?


ADVERTISEMENT

# # #


जुन आशाका साथ म कांग्रेसमा आएको थिएँ । त्यो अनुरुपको कांग्रेस मैँले अहिलेसम्म भेट्न सकेको छैन । परिवर्तन होला कि भन्ने सोचमा बसिरहेको छु । सबैभन्दा पहिलो मानसिक सोचमा परिवर्तन गर्न जरुरी छ । हामीले पञ्चायत व्यवस्था त फाल्यौँ । तर, आफ्नो पञ्चायती मानसिकता फाल्न सकेनौँ । पञ्चायतको प्रवृत्ति फाल्न सकेनौँ । त्यसैले यो बडा गाह्रो कुरा छ । केन्द्रीय सदस्यहरुमा परिवर्तन आइरहेको छैन । उनीहरु व्यक्तिवादी भएका छन् । उनीहरु युवाहरुको भविष्यप्रति चिन्तित छैनन् । नेविसंघलाई के गर्ने भनेर स्पष्ट मार्गचित्र कोर्न सकेको छैन । केन्द्रीय समिति र नेतृत्वले अब आउने युवा पुस्तालाई राष्ट्रको लागि राजनीतिमा होइन, विषयमा विज्ञ बनाएर राज्यलाई योगदान दिनतिर लाग्नुपर्छ भन्ने सोच कसैमा देखिँन मैले । त्यो ठूलो कमजोरी हो । त्यस कारण म चिन्तित छु ।

शान्ति प्रक्रियाको टुंगो, संविधान निर्माण लगायतका परिवर्तनका आधारहरु कांग्रेसकै नेतृत्वमा पूरा भएका छन् । अहिले आएर के कुराले यस्तो भयो जस्तो लाग्छ ?

विधान संशोधन मस्यौदा समिति बन्दा पार्टीले हामीजस्तो सभापतिहरुलाई पनि अवसर दिँदा म लयातका साथीहरुलाई आशा जागेको थियो । हामी इमान्दारिताका साथ एकदमै गहन छलफलमा लाग्यौँ । तर त्यहाँ बस्दा युवा केन्द्रीय समितिका साथीहरुमा राम्रो सोच रहेनछ । छलफलमा नबस्ने, बसको भए बीचैमा उठेर जाने र आफ्नो फरक मत लेखेर दिने । त्यो भनेको उनीहरु एकदमै नकारात्मक सोचका साथ गइरहेका छन् । यहाँ धेरै पटक भनिन्छ युवा, युवा । युवा भनेको के हो ? मपनि ६९ वर्षको युवा हुँ । म चुनौति दिन चाहन्छु कुन युवाको सोच र विचार मेरोभन्दा बढी छ ? कुन युवाको शारीरिक तन्दुरुस्ती भन्दा मेरो कम छ ? सोच, विचार र कार्यशैलीले युवा बनाउने हो । सोच विचार नभएका युवाको कुनै औचित्य छैन । राष्ट्रप्रति प्रतिवद्ध नभएको युवाको औचित्य छैन । इमान्दारिता र नैतिकता छैन भने उमेरले केही फरक पार्दैन ।

अहिले कांग्रेसलाई जनताले एक किसिमले साइट लगाएका छन् । जनता र कांग्रेसबीचको त्यो फाटोपनलाई हटाउन अब के गर्नुपर्छ ?

मैँले एक पटक भनेको थिएँ, सामन्ती नेताहरुबाट समाजबाटको कल्पना गर्नु मुर्खता हो । सोचमा सामन्ती छ, सोचमा पूजीँवाद छ भने समाजवादको कुरा गर्नु पागलपन हो । विपीले एउटा सानो घर, एक हल गोरु, बारी पाटो र एउटा दुहुनो गाई हरेकको होस् भन्नु भएको थियो । त्यो भनेको हरेकको न्यूनतम आवश्यकता पूर्ति होस् भन्नु भएको हो । अहिले पार्टीमा आर्थिक नीतिको बारेमा केही नेताहरुको दबदबा छ । आफू भन्दा फरक मतको मान्छेलाई उसले भित्र छिर्नै दिँदैन । अर्थविद्हरुलाई भित्र छिरेर छलफल गर्ने मौका नै दिइँदैन ।

कांग्रेससंग जनता टाढिएको छ भनेर म विश्वास गर्दिनँ । यही ललितपुरको कुरा गर्दा ४६ सादेखि साढे १२ हजारभन्दा माथि कहिल्यै पुग्न बढ्न नसकेको भोट ७० मा साढे २३ हजार कसरी आयो ? यस्तै समग्र देशको भोट हेर्नुस् । कांग्रेसको भोट बढेको छ । जनता हामीसंग टाढिएको भए त्यात्रो भोट आउँदै आउँदैनथ्यो नि ! तर जनता कांग्रेसप्रति चिन्तित छन् । कांग्रेस नबनी देश बन्दैन भन्ने कुरा पनि उनीहरुलाई थाहा छ । कांग्रेसप्रति जनता आशावादी छन् । कांग्रेसका नेताहरुको क्रियाकलाप, उनीहरुको सोचप्रति जनता निराश छन् । त्यसका लागि कांग्रेसको नेतृत्व परिवर्तन हुन आवश्यक छ । त्यो भनेको सभापतिमात्रै परिवर्तन गर्ने होइन, समग्र कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो । त्यसका लागि सबै एकजुट हुन आवश्यक छ ।

कांग्रेसका नेताहरुलाई व्यक्तिवादी सोच र गुटउपगुटबाट माथि उकास्न के गर्नुपर्छ ?

मलाई के लाग्छ भने, जब मान्छे आफू असक्षम हुन्छ । तब उसले गुट बनाउँछ । सक्षम मान्छेले कहिल्यैपनि गुट बनाउँदैन । केही मानिसलाई आफ्नो प्रलोभनमा पारेर समग्र संस्थालाई प्रभावित पारिरहेको हुन्छ । म जुन विचार लिएर ५२ वर्ष अगाडी राजनीतिमा प्रवेश गरेको थिएँ, आज पनि त्यही विचार लिएर राजनीति गरिरहेको छु । त्यही मूल्य, मान्यता र राजनीतिक सिद्धान्तलाई आधार मानेर राजनीति गरिरहेको छु । राष्ट्र, जनता र प्रजातन्त्रभन्दा म बाहिर जान सक्दिनँ । तर, अहिलेका नेताहरुले हिजोपनि आफूमा केन्द्रित भएर राजनीति गरेका थिए र आजपनि । उनीहरुले हिजो त्याग गरेका थिएनन् भनेर म भन्दिनँ । तर, आज उनीहरुका नाम लिँदा समाजमा शिर निहुराएर हिड्नुपर्ने अवस्था छ । नेताको नाम र उनीहरुको कार्यशैलीले जनता नतमस्तक हुनुपर्ने, तर आज घृणा गर्न थालेका छन् ।

हिजो राणा, पञ्चायत र राजाविरुद्ध लडेको कांग्रेस आज आफैविरुद्ध लड्नुपर्ने अवस्था आएको छ । आज कांग्रेस आफैमा रुम्मलिएको छ । आफैमा हराएको छ । त्यस कारण कांग्रेसले अब अरु होइन, आफैसंग लड्नुपर्छ । आफ्नो सोच र मानसिकतासंग लड्नुपर्छ । नेताको साख घट्नु कांग्रेसको साख घट्नु हो । हामी सबैको साख घट्नु हो । कांग्रेसमा अहिले एउटा नेताको मान मर्दन गरेर आफू नेता बन्ने होड चलिरहेको छ । यस्तो सोच र कार्यशैलीले पार्टीलाई माथि लैजान्न ।कार्यकर्ताले पनि नेताले जे भन्यो त्यही मान्नु हुँदैन । दास मानसिकता बोकेर पार्टीको भलो हुँदैन ।

४६ सालदेखि कांग्रेसका नेता तथा कार्यकर्ता शक्ति केन्द्रित भए । आफू शक्तिमा जानका लागि आफ्नै पार्टीको सरकारविरुद्ध कदमहरु चालिए । यो गलत कुरा हो । अहिले पार्टी जम्मै एनजीओले चलेको कुरा म सुन्छु । हिजो कांग्रेसको वरीपरी अरु पार्टी आउँथे । आज कांग्रेस अरु पार्टीको वरीपरी घुमिरहेको छ । यो दःखुद हो । अब हरेका कार्यकर्ताले नेतामुखी होइन, जनतामुखी भएर काम गर्नुपर्छ । जनताको आवश्यकता बोकेर नेतासंग लड्नुपर्छ भन्ने मानसिकता भएर अगाडि बढियो भने कांग्रेस धेरै आगाडि बढ्छ ।

त्यसका लागि तपाईको भूमिका अबका दिनमा के हुन्छ ?

मेरो विचारसंग मिल्ने साथीहरु मैँले बनाउनुपर्छ । मसंग अहिले केही साथीहरु हुनुहुन्छ । जिल्ला सभापतिको भेलापछि मैँले धेरै साथीहरु पाएको छु । मेरो विचारसंग नमिल्ने मानिससंग म हिड्न सक्दिनँ चाहे जोसुकै होस् । कांग्रेस अहिले शून्य अवस्थामा छैन । कांग्रेसमा धेरै मानिसहरु पनि छन् । तर तिनीहरु एक ठाउँ बस्न सकेका छैनन् । म नेतृत्व गर्छु भनेको होइन, ती सबैलाई गोलबन्दी गर्ने प्रयास गरिरहेको छु र गर्छु पनि । अबको राजनीति म पदको होइन, विचारको राजनीति गर्छु । हामीले पार्टीको लागि केही गर्नुपर्छ भन्ने विचार राख्ने व्यक्तिहरुलाई गोलबन्द गरेर जान्छु ।

त्यसले कांग्रेसलाई पूरानै अवस्थामा ल्याउँछ ?

पूरानो अवस्था भनेर म मान्दिन । कांग्रेस अब नयाँ अवस्थामा पुग्नुपर्छ । ४६ सालसम्म कांग्रेस जुन अवस्थामा आएको थियो, त्यो बेला कांग्रेससंग विचार थियो, संगठन थिएन । किनभने आन्दोलनकारी भएर काम गर्न बडा गाह्रो थियो । अहिले कांग्रेसले संगठन धेरै अगाडी बढाएको छ । तर विचार छैन । हामीले अब संगठन र विचारलाई संगसंगै लानुपर्छ । त्यसलाई म नयाँ कांग्रेस भन्छु । यो देश मात्र कांग्रेसले हाँक्न सक्छ । कांग्रेसले मात्रै विकास र स्थिरता दिन सक्छ । त्यसैले कांग्रेस पार्टी बलियो हुनु नितान्त आवश्यक छ । त्यसका लागि केही समय लाग्छ ।

हामीले विपीकै भनाई मान्ने हो भने पनि एक पटक सुकिलामुकिलाविरुद्ध आन्दोलन गर्नुपर्ने छ । मलाई लाग्छ, अब सुकिलामुकिलाविरुद्ध आन्दोलन गर्ने बेला आइसक्यो ।  त्यसका लागि सबैभन्दा पहिला हामी आफै प्रतिवद्ध र अनुशासित हुन आवश्यक छ । कुनैपनि चिज नबिग्रिकन बन्दैन । यो सर्वमान्य सिद्धान्त हो । कांग्रेसमा अहिले ठूलो ‘क्राइसिस’को बेला छ । हामीले अब तल होइन, माथि परिवर्तन गर्न आवश्यक छ ।  कुनैपनि चिज नबिग्रिकन बन्दैन । यो सर्वमान्य सिद्धान्त हो । कांग्रेसमा अहिले ठूलो ‘क्राइसिस’को बेला छ । हामीले अब तल होइन, माथि परिवर्तन गर्न आवश्यक छ ।

कसैलाई व्यवस्थापन गर्न होइन, पार्टी चलाउन विधान बनाउने हो । अब पदीय राजनीतिले देश बन्दैन । कतिपय नेताहरु यस्ता छन्, जो जिल्लामा आफ्नो निर्वाचन क्षेत्रबाट अर्कोमा गए हार्छन् । उनीहरुलाई पार्टीमा ठाउँ चाहिएको छ । त्यसैअनुरुपमा विधान ल्याउन खोज्दैछन् । अनि ऊ कसरी राष्ट्रिय नेता बन्न सक्छ ?