काठमाडौं । बार्सिलोना तथा स्पेनका पुर्व स्टार जाभी हर्नान्डेजले यो वर्ष लियोनल मेस्सीलाई बेलोन डीओर प्रदान नगरिनु अन्यायपुर्ण भएको बताएका छन्। जाभीका अनुसार, मेस्सीले खेलुन्जेल उनलाई हरेक वर्ष बेलोन डीओर प्रदान गरिनुपर्छ।
सन् २०२२ मा कतारमा हुने आगामी विश्वकप फुटबलका ब्रान्ड एम्बासडर जाभीले दुबईमा आयोजित एक कार्यक्रममा त्यसो भनेका हुन्। ‘ मेस्सीलाई बेलोन डीओर प्रदान नगरिनु अन्यायपुर्ण हो। मेस्सी मैले देखेका सर्वोत्कृष्ट खेलाडी हुन्’, ३८ वर्षीय पुर्व मिडफिल्डरको दावी छ, ‘ मिल्ने भए म उनलाई हरेक पटक बेलोन डीओर दिने थिएँ।’
पाँचपटक बेलोन डीओर जितेका मेस्सी यसपटक सन् २००७ पछि पहिलोपटक बेलोन डीओरको सम्भावित शीर्ष तीनमा पर्न सकेनन्। रियल म्याड्रिडका क्रोएसियन मिडफिल्डर लुका मोड्रिचले यसपटक फिफा वर्ष खेलाडी, बेलोन डीओर र युरोपियन वर्ष खेलाडी गरि तीनवटै अवार्ड जिते। जाभीले भनेका छन्- मोड्रिचले जितेकोमा खुसी छु तर मेस्सी सर्वोत्कृष्ट हुन्।
जाभी र मेस्सी दुवै बार्सिलोनाको एकेडेमी ला मासियाका उत्पादन हुन्। जाभीले १७ वर्ष बार्सिलोनाका लागि सिनियर फुटबल खेलेका थिए। मेसी सन् २००४ यता बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका छन्। जाभीले सन् २०१५ मा बार्सा छाडेर कतारको क्लबमा आबद्ध भएका थिए।