काठमाडौं । निजी कलेजलाई दिइएको सम्बन्धन खारेज गर्न माग गर्दै विद्यार्थी र प्राध्यापकले थालेको आन्दोलनका कारण चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ६ महिनादेखि पठनपाठन ठप्प छ।


ADVERTISEMENT


गत असारदेखि आन्दोलनरत उनीहरूले काठमाडौं आएर दबाबमूलक कार्यक्रम सुरु गरेका छन्।


ADVERTISEMENT

# # #


विश्वविद्यालय कार्यकारी परिषद्ले असार २० गते सातवटा कृषि र एउटा वन विज्ञान विषयमा स्नातक तहका लागि ८ वटा निजी कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो।

निजी क्याम्पसलाई सम्बन्धन दिएसँगै सुरु आन्दोलनलाई कारण देखाउँदै साउन १४ को मन्त्रिपरिषद् बैठकले कृषि तथा वन विज्ञान विश्वविद्यालयको सम्बन्धन खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध निजी कलेज सञ्चालकले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले सम्बन्धन यथावत् राख्न आदेश दियो।

विश्वविद्यालयले कात्तिक २० बाट आंगिकसहित निजी कलेजमा भर्ना थाल्यो । त्यसपछि विद्यार्थी–प्राध्यापकले चर्काएको आन्दोलन जारी छ । यही मंसिर ११ मा निजी कलेजको भर्ना रद्द गरिए पनि विद्यार्थी र प्राध्यापकको आन्दोलन रोकिएको छैन । उनीहरूले सम्बन्धन खारेज गर्नुपर्ने अडान लिएका छन्।

सम्बन्धन पाएका ८ वटै निजी कलेजका सञ्चालकले सम्बन्धन कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । उक्त मुद्दाको पेसी बुधबारका लागि तोकिएकोमा स्थगित भएको छ।

पूर्वाञ्चल क्याम्पस झापा, जीविका कृषि कलेज इटहरी, भ्याली स्टेट ललितपुर, रामनगर टेक्निकल एन्ड म्यानेजमेन्ट कलेज नवलपरासी, गोरखा युनाइटेड पब्लिक स्कुल कोहलपुर, ब्राइट मध्यपश्चिम सुर्खेत, हिमछाया क्याम्पस नवलपुर र सिद्धान्त कलेजले सम्बन्धन पाएका हुन्।

विश्वविद्यालयका सहप्राध्यापक ईश्वरीप्रसाद कडेरियाले पूर्वाधारै नभएका निजी कलेजलाई सम्बन्ध दिइएकाले खारेज गर्नुपर्ने बताए।