काठमाडौँ– दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनका (सार्क) मुलुकबीच आपसमा संस्कृति आदान–प्रदान गरी जनस्तरको सम्बन्धलाई मजबुत बनाउन काठमाडौँमा सार्कस्तरीय सांस्कृतिक महोत्सव एवम् परम्परागत नृत्य आयोजना हुने भएको छ ।


ADVERTISEMENT


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आतिथ्यता तथा सार्क सांस्कृतिक केन्द्र (सार्क कल्चरल सेन्टर) श्रीलङ्का मुख्य आयोजक रहेको प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सका कलाकारको सहभागिता रहने पर्यटन मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मङ्सिर २५ देखि २८ गतेसम्म सञ्चालन हुने महोत्सवमा सम्बन्धित मुलुकका ४७ कलाकारले कला र संस्कृति झल्कने परम्परागत नृत्य, गीत–सङ्गीत प्रस्तुत गर्नेछन् । नेपालबाट १५, श्रीलङ्काका ११, माल्दिभ्सका १०, बङ्गलादेशका सात र भारतका ६ गरी ४७ कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।


ADVERTISEMENT

# # #


पर्यटन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले सार्क मुलुकबीच संस्कृतिको माध्यमबाट जनस्तरको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताए । केन्द्रका उपनिर्देशक किसानी जयसिङघे विजेसिकराले क्षेत्रीयस्तरको कला र संस्कृतिको माध्यमबाट जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउन महोत्सव उपयोगी हुने बताए ।

सार्कका पाँच क्षेत्रीय केन्द्रमध्ये कोलम्बोको सांस्कृतिक केन्द्रले संस्कृति प्रवद्र्धनको काम गर्दै आएको छ । केन्द्रले संस्कृति, पुरातत्व, ललितकला, गीत, नाटक र नृत्यजस्ता कार्यक्रम गर्ने गर्छ । सन् २००९ मा स्थापना भएको यो संस्थाले सांस्कृतिकरुपमा सार्क मुलुकबीचको जनस्तरको सम्बन्धलाई स्थापित गर्न सहयोग पुग्ने सहसचिव सुवेदीको भनाइ थियो । गत वर्ष चित्रकलासम्बन्धी काठमाडौँमा महोत्सव भएको थियो ।

अन्तरदेशीय कला र संस्कृतिको आदानप्रदानसाथै सीप, ज्ञान र दक्षता अभिवृद्धि गर्न महोत्सव फलदायी हुने बताइएको छ । महोत्सवमा परम्परागत लोकनृत्यबारे विज्ञहरु सम्मिलित कार्यशाला, विश्व सम्पदा क्षेत्रको अवलोकन र सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ ।