काठमाडौं – सासंदहरुले कञ्चनपुरको भीमदत्तनगर– २ कि १३ वर्षीय किशोरी निर्मला पन्तको हत्याको अनुसन्धानमा प्रहरी सक्रियताबारे आईजीपी सर्वेन्द्र खनालसँग जवाफ मागेका छन् ।


ADVERTISEMENT


संसदको दिगो विकास र सुशासन समितिको वैठकमा सासंदहरुले नेपाल प्रहरीका आईजीपी खनालसँग अनुसन्धान प्रगतिबारे जवाफ माग गरेका हुन् । सासंद चक्र स्नेहीले भने, ‘‘निर्मला हत्याकाण्डको प्रमाण मेट्ने प्रहरीलाई बर्खास्ती गरेर मात्रै न्याय पाइन्छ ?’’ स्नेहीले निर्मला हत्याको सत्यतथ्य बाहिर ल्याउन माग गरे ।


ADVERTISEMENT

# # #


सासंद रमेशजंग रायमाझीले निर्मला बलात्कार र हत्यामा शक्तिशाली व्यक्तिको हात रहेको दाबी गर्दै नमिता सुनिता हत्याकाण्ड दोहोरिएको बताए ।

आईजीपी खनाललाई नै आरोप लगाउँदै सासंद रायमाझीले भने, ‘‘शक्तिशाली व्याक्तिलाई बचाउन सरकारले आईजीपीमार्फत काम गरिरहेको छ । आईजीपीले सीआईबीका अधिकारीलाई दबाब दिएका छन् । यस्तोमा न्याय कसरी पाइन्छ ?’’

सासंद कालीबहादुर मल्लले प्रहरीलाई दात नभएको कुकुरको संज्ञा दिए । उनले भने,‘ ‘प्रहरीको उज्यालो छवि धमिलिएको त होइन ? प्रहरी दाँत बिनाको कुकुर किन बन्यो ? दाँत नभएको कुकुरले टोक्न सक्दैन ।’’

बैठकमा संघीय समाजवादी फोरमकी राष्ट्रिय सभा सासंद प्रमिला यादवले आईजीपी खनालले सुरक्षा दिन नसके राजीनामा दिन माग गरिन् । ‘हत्यारा पत्ता लगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्, हामी सक्षम मानिस नियुक्त गर्छौं, सांसद प्रमिलाले भनिन्, ‘हत्यारा समाउन नसक्ने अनि फर्जी अपराधी बनाउने ?’

सासंदहरुले महिला हिंसा बढेकोमा चिन्ता व्यक्त गर्दै शान्ति सुरक्षाको अवस्था खस्किँदै गएकोमा चिन्ता व्यक्त गरे ।

सासंदबाटै बर्दी खोलिदिए हुन्छ : आइजीपी

जवाफमा महानिरीक्षक खनालले निर्मला प्रकरणले आफूलाई निद्रा नलागेको बताए।

‘अपराधी पत्ता नलाग्दा मलाई पनि निद्रा लागेको छैन। आइजिपी र नेपाल प्रहरी यो मुद्दामा एकदमै गम्भीर छ। सामर्थ्यले भ्याएसम्म गरेका छौं। एक रौं पनि गैरव्यवसायिक काम गरेका छैनौं,’ खनालले भने,‘ कसैको दबाब छैन, प्रभावित छैन हुँदैन पनि। म सेवाको उत्तरार्धमा छु बर्दीमा दाग लाग्ने काम गर्दिनँ।’

उनले निर्दोष व्यक्तिलाई फसाउने काम प्रहरीबाट नहुने बताए।

‘अनुसन्धानका लागि ल्याएको व्यक्तिको नाम सार्वजनिक हुँदा समस्या भएको छ,’ खनालले भने, ‘यदि आइजिपीले नचाहिँदो काम गरेको लाग्छ भने संसदमा ल्याएर बर्दी खोल्दिनुस्।’

उनले एउटा घटनालाई लिएर सिंगो प्रहरीको मूल्यांकन गर्न नहुने तर्क गरे।

‘भर्खरै हामीले अन्तर्राष्ट्रियस्तरमा सुशासन अवार्ड पाएका छौं, एउटा घटनाका विषयमा सिंगो प्रहरीको मूल्यांकन गर्न मिल्दैन, ’ खनालले भने।