काठमाडौँ– सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न चार मुलुकमा राजदूतका लागि प्रस्ताव गरेका नामलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।


ADVERTISEMENT


समितिको आजको बैठकले प्रस्तावित राजदूतको योग्यता, सोच, कार्ययोजना र अवधारणा सुनेपछि उनीहरुको नाम सर्वसम्मतिले स्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि राजदूतमा डा अञ्जान शाक्यको नाम सिफारिश गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । उनीहरुमध्ये आचार्यसँग पूर्वमन्त्री एवं पूर्वराजदूत भएको अनुभव छ भने पाण्डे पनि यसअघि राजदूतको जिम्मेवारी सम्हालीसकेका छन् ।

परराष्ट्र मन्त्रालयका सहसचिव ढकालले यसअघि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यवाहक राजदूतको जिम्मेवारी डेढ वर्ष सम्हालेका समितिलाई जानकारी दिए ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकलगायतका विभिन्न जिम्मेवारीमा रहेर काम गरेकी डा शाक्यले मुलुकको राष्ट्रिय हितलाई सर्वोपरी राखेर सरकारको विकास र समृद्धिको लक्ष्यलाई आधार बनाएर आफूले कार्यसम्पादन गर्ने बैठकसमक्ष प्रतिबद्धता जनाए ।

चारैजना प्रस्तावित राजदूतले मुलुकको राष्ट्रियहित र स्वाभिमानलाई उच्च सम्मान गर्दै आर्थिक कूटनीतिकका माध्यमबाट मुलुकमा पर्यटन प्रवद्र्धन तथा नयाँ प्रविधिका साथसाथै वैदेशिक लगानी भित्र्याउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने अठोट व्यक्त गरेका थिए ।