काठमाडौं– शाही युवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएको छ।


ADVERTISEMENT


शुक्रबार रिपोर्टर्स क्लब नेपालमा शाही युवा शक्तिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खड्काले वर्तमान सरकारका प्रधानमन्त्री सक्रिय राजतन्त्रभन्दा सयौं गुणा निरंकुश बनेको आरोप लगाए ।


ADVERTISEMENT

# # #


वर्तमान शासन सत्ता जनताको भावनाविपरित चलेको बताउँदै अध्यक्ष खड्काले सरकारले राष्ट्र, राष्ट्रियता र धर्मलाई डलरमा बिक्रि गरेको आरोप लगाए ।

गणतन्त्रभन्दा सक्रिय राजतन्त्र एकदमै जनपक्षीय रहेको दाबी गर्दै उनले भने, ‘देशमा राजतन्त्र चाहिन्छ, अहिलेका नेताहरुभन्दा राजा कयौं गुणा ठीक रहेछन्, भन्ने जनताले महशुस गरिसकेका छन् । देशमा वैदेशिक हस्तक्षेप बढेको छ । महंगीले नेटो काटेको छ । धर्म डलरमा बिक्रि गरिँदैछ, देशलाई विखण्डन गरिँदैछ । सत्ता, शक्ति र सम्पतिको लागि नेताहरुले देश र जनतालाई लिलाम गर्दैछन् ।’

पहिलो पटक १९१० मा जंगबहादुर राणा र दोस्रोपटक २०२० सालमा राजा महेन्द्र शाहको पालामा बनेको मुलुकी ऐनको सम्झनामा शाही यूवा शक्ति नेपालले आउँदो पुस १ गते विशाल मोटरसाईकल र्यालीको आयोजना गर्ने उनले बताए ।

उनले भने, ‘पुस १ गते गणतन्त्रकोविरुद्धमा मानिस सडकमा आउँदैछन् । काम नगर्नेका दिन सकिए । जनता राष्ट्र र राजसंस्थाको बारेमा बुझ्ने भईसके, नेताहरुभन्दा राजानै राष्ट्रवादी, निःस्वार्थी र जनपक्षीय रहेछन् भन्न थालेका छन्।’

कार्यक्रममा शाही यूवा शक्ति नेपालका प्रवक्ता गोविन्द ढुङ्गाना, उपाध्यक्ष मञ्जु थापा, सचिव राम बस्नेत, केन्द्रीय सदस्यहरु सन्देश साह, साङ्गे लामा, ईश्वर ढुङ्गाना, काठमाडौं जिल्ला अध्यक्ष भोला प्रसाद पौडेललगायतले वर्तमान सरकार र गणतन्त्रको बिरोध गर्दै राजतन्त्रको आवश्कत्ता औंल्याएका थिए ।