दुनै, डोल्पा– डोल्पा जिल्लाका ऐतिहासिक स्थलहरुमध्येको एक हो, राजारानी क्षेत्र । मनमोहक ठाउँ र रोचक इतिहास भएकै कारण हिजोआज यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।


ADVERTISEMENT


त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली गाउँमा राजारानी डाँडा रहेको छ । क्षेत्री र दलित समुदायको बसोबास रहेको यो गाउँ राजारानी क्षेत्रको इतिहासको साक्षीको रुपमा रहेको छ । गाउँको तलतिर मध्यभागमै छ, राजारानी डाँडा । हराभरा सल्लाको जङ्गलले त्यस क्षेत्रको सुन्दरतालाई थप मनमोहक बनाइदिएको छ । बाह्रै महिना एउटै गतिमा बहने हावाले चैत–वैशाखको गर्मीमा पनि यहाँका बासिन्दालाई शीतलता प्रदान गर्छ ।


ADVERTISEMENT

# # #


प्राकृतिक सुन्दरता मात्रै यहाँको परिचय होइन । रोचक प्राचीन इतिहास पनि यो ठाउँसँग जोडिएको छ । डाँडाको पूर्वतर्फको फेदैमा छ सिमालो (भिजेको) जमीन । करीब दश रोपनी क्षेत्रमा फैलिएको सेरा खेतको आफ्नै इतिहास छ । सयौँ वर्ष अघि बाजागाजासहित यहाँ धान रोपाइँ गरिन्थ्यो । जेठ महिनामा गरिने धान रोपाइँमा खेताला, गोरु, रोपार्नी जिल्लाका विभिन्न विकट गाउँहरुबाट रल्लीगाउँ पुग्थे ।

रोपाइँ शुरु गर्नु पूर्व मान्छेको बलि दिने अनौठो परम्परा थियो । यदि मान्छेको बलि नदिएरै रोपाइँ शुरु गरिए सबै खेताला, गोरु हिलोमा फस्ने र अनिष्ट हुने विश्वास थियो । “खेतबाट पचास मिटर टाढा मानव बलिका लागि प्रयोग गरिने पाँच मिटर लामो त्यत्तिकै गहिरो अनौठो ढुङ्गा छ, त्यसैमा मान्छेलाई राखेर बलि दिने गरिन्थ्यो,” स्थानीय विषमान नेपालीले भने – “त्यो अनौठो ढुङ्गा अझै पनि देख्न पाइन्छ । त्यसैमा रोपाइँका दिन काटिने मान्छेको नाम लेखिएको हुन्थ्यो ।”

यो प्रथालाई निरन्तरता दिँदा सबैजना आफ्ना परिवारका सदस्य जिउँदै काटिने त्रासले गाँउघरमा रुवाबासी नै चल्थ्यो । यो डरलाग्दो प्रथा बाबुछोराको जोडीले जुक्ति लगाएर हटाएको बताइन्छ । साविकको माझफाल गाविसका बाबुछोराले ढुङ्गामा लेखिएका अक्षर बासो(फलामे औजार)ले ताछेर मेटाएपछि आफूहरु काटिन नपरेको र यसपछि यो प्रथा टुटेको यहाँका बूढापाकाहरु बताउँछन् । बाइसे–चौबीसे राज्य हुँदा डोल्पाका नौ राज्यमध्ये शक्तिशाली मानिने एक राज्यमा लिम्बुल्याप्चे नामका भोटे राजाले शासन गर्थे ।

रोपाइँ गरेको खेत अहिले बाँझो अवस्थामा छ । स्थानीयवासीले पशुबस्तु चराउने ठाउँको रुपमा यसलाई प्रयोग गर्दैआएका छन् ।

राजारानी डाँडामा हालै प्राचीन वस्तु भेटिएका छन् । चार वर्ष अगाडि पुरातत्व विभागको टोली अनुसन्धानका लागि यहाँ पुगेको थियो । चौध दिनसम्म बसेर यो टोलीले स्थानीय बासिन्दासँग परामर्श ग¥यो र विभिन्न स्थानमा उत्खनन् ग¥यो । उत्खनन्मा सयौँ वर्ष पुराना वस्तुरुहरु फेला परे जसमा पत्थरबाट बनेका बहुमूल्य माला (पुलिक) दुई थान, फलामबाट बनेको तीर पाँच थान, माटाका भाँडा ३ थान, मानव साङ्लो, धातुका हातहतियार र केही मानव अस्थिपञ्जर थिए । अनुसन्धान गर्ने भन्दै ती वस्तुहरु विभागले काठमाडौँ लगेको थियो ।

फेला परेका पुरातात्विक वस्तुहरु त्रिपुराकोटमा एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो । “धामी (देउता चढेर भविष्यवाणी गर्ने मान्छे) ले उत्खनन् गर्न रोक लगाएका थिए, पुरातत्वको टोलीलाई पनि उत्खनन् नगर्न भन्यौं तर मानेन, उत्खनन् गर्यो,” स्थानीयवासी टोपबहादुर शाहीले भने ।

स्थानीयवासीले फेला परेका ती वस्तु डोल्पामै राख्न आग्रह गरेको थियो । “परीक्षण पछि पुनः डोल्पा फर्काउने भन्दै लगिएका प्राचीन वस्तुहरु कहाँ, कस्तो अवस्थामा छन् अत्तोपत्तो छैन,” शाहीले भने । “राजारानी क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा प्रवद्र्धन गर्ने र थप अनुसन्धानका लागि केही समयभित्रै डोल्पा पुग्ने बाचा गरेर उक्त टोली फर्केको शाहीले स्मरण गरे।

डाँडाभरी जमीनमुनि घर

राजारानी डाँडा वरिपरि ठाउँठाउँमा जमीनमुनि बनाइएका खाडल आकारका घर भेटिन्छन् । जमीनभित्रै ढुङ्गाबाट बनाइएका जस्ता देखिने घरहरुको अवलोकन गरेपछि त्यहाँ पुग्ने मान्छेहरु अचम्ममा पर्छन् । त्यहाँभित्र सयौँ वर्ष पुरानाजस्ता लाग्ने मानव अस्थिपञ्जरहरु अझै देख्न पाइन्छ ।

नेपाल एकीकरणका क्रममा डोल्पा पुगेका बहादुर शाहको टोलीबाट बच्न यस्ता खाडल बनाइएको बताइन्छ । उक्त टोलीसँग युद्धमा मरेका सैनिकहरुलाई गाडिएकाले पनि धेरै परिमाणमा मानव अस्थिपञ्जर भेटिएको अनुसन्धानकर्ताहरुको तर्क छ ।

उत्खनन्मा भेटिएका पुरातात्विक वस्तुहरु त्यहाँका राजा र प्रजाका सम्पति भएको अनुमान गरिएको छ ।

राजारानी देवल

त्यस क्षेत्रको अर्को आकर्षण राजारानी देवल हुन् । प्राचीन ढुङ्गा कुँदेर बनाइएका उक्त देवलहरु निकै नै आकर्षक देखिन्छन् । त्यहाँ पुग्ने जो कोही ती देवल क्यामरामा कैद गर्न आतुर हुन्छन् ।

यहाँका राजाले सम्झनाका लागि राजारानी देवल खडा गरेको एकथरीको भनाइ छ भने अर्काथरी मान्छेहरु डोल्पा एकीकरण गर्न आएको बहादुर शाहको टोलीले त्यहाँको राजालाई मारिसकेपछि उनीहरुको स्मारकको रुपमा देवल खडा गरेको बताउँछन् ।

राजारानी क्षेत्र अहिले लोप हुने अवस्थामा पुगेको छ । सयौँ वर्ष पुरानो इतिहासको साक्षीको रुपमा रहेको र पुरातत्व विभागले सूचीकरण गरेको यस क्षेत्र मानवीय अतिक्रमणको चपेटा पर्न थालेको हो । स्थानीय बासिन्दाले जथाभावी उत्खनन् गरेर माटो र ढुङ्गा निकाल्न थालेपछि ऐतिहासिक पहिचान मेटिने खतरा बढेको स्थानीयवासी तुलबहादुर श्रेष्ठले बताउँछन् ।

यस क्षेत्रको अवलोकन भ्रमण गर्न जिल्लाका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरु आउने गरेका छन् तर, संरक्षणका लागि कतैबाट पहल भएको छैन । यहाँबाट भेरी नदी, त्रिपुरासुन्दरी मन्दिर, मुकुटेश्वर हिमाललगायत चारैतिरको दृश्य अवलोकन गर्न सकिने भएकाले भ्यु टावर निर्माण गर्न उपयुक्त हुने स्थानीय बासिन्दा बताउँछन् ।

धेरै विद्यालयबाट विद्यार्थीहरु यस ठाउँमा शैक्षिक भ्रमणमा आउने क्रम बढेर गएको छ । आगन्तुकहरु यहाँ पुगेर मान्छे बलि दिन प्रयोग भएको ढुङ्गा, सेरा खेत, राजारानी देवल, जमीनमुनिका घर, मानव अस्थिपञ्जरको अवलोकन गर्ने गर्छन् । पछिल्लो चार महिनायता मात्रै दर्जनौं विद्यालयबाट आएका विद्यार्थीले सो क्षेत्रको भ्रमण गरेको स्थानीयवासी पन्न उखेडाले बताए ।

रमाइलो वातावरण भएकै कारण चलचित्र छायाङ्कन गर्न समेत मान्छेहरु यहाँ पुग्ने गरेका छन् । केही महिना अगाडि मात्रै डोल्पाको मौलिक परिवेश र यहाँको कष्टकर जीवन शैलीलाइ कथा बनाएर निर्माण गर्न लागिएको चलचित्र म्हेन्दुको छायाङ्कन यहाँ गरिएको थियो ।

अनौठो र रोचक इतिहास बोकेको राजारानी क्षेत्र अवलोकन भ्रमणका लागि सबैजना एकपटक पुग्नैपर्ने शिक्षक लोकेश खत्रीले बताए । जिल्लाकै प्रमुख ऐतिहासिक ठाउँ भएर पनि कुनै पनि निकायले संरक्षणका लागि चासो नदेखाएकामा स्थानीय बासिन्दा चिन्तित बनेका छन् । शुरुमा घेराबार गरेर यसलाई संरक्षण गर्नुपर्ने उनीहरुको सुझाव छ । – रामचन्द्र न्यौपाने/रासस