काठमाडौं । १५ दिनका लागि साढे ५६ करोड नाफा सुनिश्चित गरेर नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर समान दुई रुपैयाँ घटाएको छ । सोमबार रातिदेखि लागू हुने गरी भएको समायोजनसँगै पेट्रोल एक सय १२ तथा डिजेल र मट्टीतेल ९९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।


ADVERTISEMENT


दुई रुपैयाँ घटाएर बेच्दा पनि निगमलाई १५ दिनमा ५६ करोड ५८ लाख नाफा हुनेछ । अहिले दैनिक करिब ५० करोड रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री हुन्छ । यो हिसाबमा दिनमै करिब ४ करोड नाफा हुन्छ । निगमले कम नाफा राखेर समायोजन गरेको भए पेट्रोलियमको भाउ अझै कम हुने थियो ।


ADVERTISEMENT

# # #


निगम प्रवक्ता वीरेन्द्र गोइतले चालू आर्थिक वर्षको सुरुबाटै निरन्तर नोक्सान भइरहेका कारण अहिले नाफा राखेर मूल्य समायोजन गरेको बताए । ‘विगत साढे दुई महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगेको थियो ।

त्यो वेला एक महिनामै निगमलाई दुई अर्बभन्दा बढी घाटा भयो,’ उनले भने, ‘निरन्तर नोक्सान खेपिरहेका कारण चालू आवको हालसम्म ३ अर्ब ८४ करोड घाटा भइसकेको अवस्था छ ।’ विगतमा भएको नोक्सानीलाई भर्पाई गर्न अहिले चर्को नाफा राखेर मूल्य थोरै घटाएको निगमको तर्क छ ।